धरान : प्रसिद्ध पौराणिक धार्मिक स्थल पिण्डेश्वर मन्दिर क्षेत्रलाई रमणीय बनाउन धरानका लायन्स क्लबहरूबाट मिनी पार्क निर्माण गरिएको छ ।
मन्दिरकाे पश्चिमोत्तर विजयपुर चौक जाने सडक दक्षिण स्थित चौतारा स्थल वरिपरि १५ लाख रुपैयाँको लागतमा लायन्स बाटिका निर्माण भएको हो ।
बाटिका दर्शनार्थीहरुका लागि पिण्डेश्वर मन्दिर परिसर दृश्यावलोकन गर्ने विश्राम स्थलको रूपमा धरानका २० वटा लायन्स क्लबहरूको संयुक्त लगानीमा निर्माण भएको हो ।
मिनीपार्कमा आगन्तुकहरू बस्नका लागि सिमेन्टका बेन्चहरू बनाइएका छन् । मध्य भागमा रुद्राक्षको ठुलो प्रतिमा स्थापना गरिएको छ । गमलामा फुलका बिरुवाहरू रोपिएका छन् ।
वाटिका बनाउन धरान-१४ कार्यालयले जग्गा उपलब्ध गराएको हो । धरान–१५ वडा कार्यालयले ८० हजार रुपैयाँ प्रदान गरेको निर्माण संयोजक कविता लिम्वुले बताइन् ।
वाटिका उद्घाटन बुधवार स्टिलबोर्ड अनावरण गरी लायन्स ३२५ सी डिस्ट्रिक गभर्नर विकास अधिकारी, पूर्व डिस्ट्रिक गभर्नर धिरज गुरुङले गरेका हुन ।
नवनिर्मित मिनिपार्क लायन्स वाटिका स्थानीयवासी, पिण्डेश्वर बाबाधाम समितिलाई हस्तान्तरण गरिने निर्माण समितिले जनाएको छ । संरक्षणको कार्य स्थानीयबाट हुने निर्माण संयोजक लिम्वुले विश्वास व्यक्त गरिन् ।
धरानमा लायन्स क्लबले यसअघि २ करोड लगानीमा धरान-१३ स्थित सत्य साई स्कुलको भवन निर्माण गरेको छ । धरान-१७ सयपत्री वाल विकास केन्द्र भवन, इलाका प्रशासनमा ३ वटा सार्वजनिक शौचालय, खानेपानी ट्याङ्की, पञ्चकन्या मन्दिरमा चौतारा निर्माण गरिदिएको छ ।