धरान: सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घले धरानका माध्यमिक तहका विद्यार्थीहरूका लागि ३ महिने ब्याडमिन्टन प्रशिक्षण सञ्चालन गरेको छ ।
अमर सेवा समाजको कभर्ड हलमा शुक्रवार नेपाल ब्याडमिन्टन सङ्घ केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामाको प्रमुख आतिथ्यमा सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रतीक श्रेष्ठले गरेका छन् । श्रेष्ठ ब्याडमिन्टन वर्ल्ड फेडेरेसनका लेभल १ सर्टिफाइड प्रशिक्षक हुन ।  
प्रशिक्षणको पहिलो दिन विभिन्न विद्यालयका २५ जना विद्यार्थी सहभागी भएका थिए । प्रशिक्षक श्रेष्ठका अनुसार स-साना विद्यार्थीहरूलाई ब्याडमिन्टन खेलमा दक्ष बनाउन प्रशिक्षणको उद्देश्य रहेको छ । 
प्रशिक्षणमा पूर्व राष्ट्रिय खेलाडी देवेन्द्र खड्का, अनमोल राई, गीता राई, योगिता लिम्बू लगायतले सहजीकरण गरेका थिए । 
कार्यक्रममा युके एनबिएका पूर्व अध्यक्ष तेज मेन्याङ्बो, अमर सेवा समाजका अध्यक्ष भूमि पेइम, धरान ब्याडमिन्टन क्लबका अध्यक्ष टन्क लिम्बू, मेहर कलेक्सन धरानका मेहरलाल श्रेष्ठ, वितरक सङ्घ अध्यक्ष नवीन तामाङ लगायत उपस्थित थिए ।