धरान: धरान जेसीजको स्वर्ण जयन्तीको स्मृतिमा धरान–३ मा बन्ने चन्द्रपुर डबलीको धरान नगर प्रमुख हर्क साम्पाङले विहिवार शिलान्यास गरेका छन् ।
धरान बजार स्थापना कालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको नाममा बसेको धरान–३ को बजारलाई चन्द्रपुर नामकरण गरिएको थियो । उक्त इतिहासलाई निरन्तरता दिदैं धरान जेसीजको ५० औँ स्थापना दिवस स्वर्ण जयन्तीमा चन्द्र डबली मञ्च निर्माण गर्न लागेको हो ।
इतिहासलाई सम्झना गर्न बन्ने डबलीको शिलान्यास कार्यक्रममा प्रमुख साम्पाङले धरान सबै जाति समुदायको साझा थलो भएकोले सबैको सहमति र सहभागितामा विकासका काम गर्ने प्रतिबद्धता जनाए । जेसीजले निर्माण गर्ने डबलीमा उपमहानगरपालिकाले सहयोग गर्ने वचन उनले दिए ।
शिलान्यास नगर प्रमुख सहित धरान जेसीजका संस्थापक अध्यक्ष श्याम गोविन्द श्रेष्ठ र धरान–३ का वडाध्यक्ष विद्या शाक्यले संयुक्त रूपमा शिलान्यास गरेका हुन ।
धरान जेसीज स्मारकमा रूपमा चन्द्रपुर डबली निर्माण हुने जेसीस अध्यक्ष विदुर थापाले बताए । स्वर्ण जयन्तीको अवसरमा धरान जेसीसले वर्षभर विभिन्न सामाजिक गतिविधहरु सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
निर्माण गर्न लागेको डबलीले स्थानीय कला, संस्कृति, सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्ने मञ्चको रूपमा रहने छ । स्थानीय भौतिक सम्पत्ति रहने भएकाले यसमा स्थानीयको साथ र सहयोग रहने नेवा: देय दवू केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताए ।
वडाध्यक्ष विद्या शाक्यले धरान–३ ऐतिहासिक बजार भएकाले यसको सौन्दर्यीकरण र विकासमा उपमहानगरले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
करिब १० लाखको लागतमा नेवारी शैलीमा बन्ने डबली भदौ १४ गते उद्घाटन गर्ने लक्ष्य रहेको निर्माण संयोजक मोहन श्रेष्ठले जानकारी दिए । निर्माणका लागि ११ हजार रुपैयाँ माथि सहयोग गर्नेको नाम शिलालेखमा राखिने बताइएको छ ।
डबली निर्माणका लागि समाजसेवी कृष्णप्रसाद श्रेष्ठले १ लाख १ हजार, श्याम गोविन्द श्रेष्ठले १ लाख ११ हजार प्रदान गरेका छन् । जेसीज पूर्व अध्यक्षहरूबाट ११ हजारका दरले सहयोग प्रदान गरिने भएको छ ।
स्थानीय जगन्नाथ ताम्राकारले ३ थान गजुर प्रदान गर्ने भएका छन् । स्थानीय बाबुलाल शाहले ११ हजार रुपया कार्यक्रमका बिच प्रदान गरे । जेसीसकी निवर्तमान अध्यक्ष आयूष्मा शाक्य, संस्थापक प्रथम महिला रेवा श्रेष्ठ, पूर्व अध्यक्ष सरोज श्रेष्ठ, प्रथम महिला समूहकी संयोजक कोपिला श्रेष्ठ कार्यक्रममा उपस्थित थिए ।