विराटनगर : मोरङको बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा ठुलो फड्को मारेको छ। मङ्गलवार अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि मात्रै समर्पित २०० बेड क्षमताको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको हो।
महिला स्वास्थ्यलाई थप विशेष र सुविधा सम्पन्न बनाउन निर्माण गरिएको उक्त भवनको उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरे। उनले यस कदमलाई पूर्वी क्षेत्रमा स्वास्थ्य सेवाको नयाँ अध्यायको सुरुवात भन्दै प्रशंसा गरे।
भवन विस्तारसँगै अस्पतालमा स्त्री तथा प्रसूति उपचारका लागि ५ वटा अत्याधुनिक अप्रेशन थिएटर, २०० बेडको वार्ड, ३० बेडको डिलक्स क्याबिन, छुट्टै गाइनो आईसीयू र आपतकालीन सेवा उपलब्ध हुने सुविधा थपिएको छ। यसअघि १९ वटा शल्यक्रिया कक्ष सञ्चालनमा रहेका अस्पतालमा अब २४ वटा अप्रेशन थिएटर पुगेका छन्।
अस्पतालका अध्यक्ष तथा प्रा.डा. ज्ञानेन्द्र मानसिंह कार्कीका अनुसार, यो कदमले संवेदनशील मानिने स्त्री तथा प्रसूति सेवालाई अझ सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउन मद्दत गर्नेछ। “नयाँ भवन र अत्याधुनिक उपकरणका कारण महिला बिरामीलाई अझ सहज र भरपर्दो उपचार प्रदान गर्न सकिनेछ,” उनले बताए।
हाल अस्पतालमा १०० बेड क्षमताको आपतकालीन विभाग सञ्चालनमा छ, जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि समावेश गरिएको छ। नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रूपमा परिचित यस अस्पतालमा २० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको टोली २४ घण्टा सेवा दिइरहेको छ।
उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति वाग्लेले भने, “विराट मेडिकल कलेजले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा निरन्तर गुणस्तर कायम राखेको छ। यो संस्थाले पूर्वी नेपालमा स्वास्थ्य क्षेत्रलाई नयाँ स्तरमा पुर्याएको छ।”
सो अवसरमा अस्पतालका चिकित्सक, नर्स र विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे आफ्ना जिज्ञासा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजको एमबिबिएस कोटा बढाउने निर्णयलाई ऐतिहासिक बताए। “यो १० वर्षपछिको आइस ब्रेक हो। यसले देशमा दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” उनले भने।
यससँगै अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूलाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ समेत सञ्चालनमा ल्याएको छ, जसले स्वच्छ र सहज खानपान उपलब्ध गराउनेछ।