काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जुँगाको लडाईं नलड्ने बताएका छन् ।

प्रदेश नम्बर ३ को प्रदेश सभा सोमबार पहिलोपटक हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले भारतसँग जुँगाको लडाइँ नलड्ने बरु खौरिदिने बताएका हुन् ।

छिमेकीहरुसँग नचाहिने कुरामा विवाद गर्न नहुने भन्दै ओलीले छिमेकीहरुसँगको विवादले देशमा विकास हुन नसक्ने तर्क गरे ।

यसअघि ओली प्रधानमन्त्री भएको बेला भारतीय नाकाबन्दीलाई सामना गरेको स्मरण गर्दै ओलीले भने ‘अहिले छिमेकीसँगको सम्बन्ध पुर्नस्थापित भएको छ। सुधार हुनुपर्छ भनेर निहुँरिएर आन्तरिक मामिलामा झुकेर होइन। मिल्नैपर्छ भनेर जसरी पनि होइन। आन्तरिक मामिलामा हस्तक्षेप गर्दिनँ भनेर हामीले सम्बन्ध सुधार गरेका छौँ ।’

ओलीले प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भारत भ्रमण भारतमा गरेको विषयमा आएका टिप्पणीहरुको बारे पनि जबाफ दिए । ‘पहिला कता गयो भन्ने कुरा मुख्य कुरा होइन् । त्यहाँ गएर के भयो भन्ने ठूलो कुरा हो । देशको हित भयो भएन हेर्नुपर्यो शिर उठाएर सम्बन्ध सुधार गरेका छौँ। हामी जुगाँका लडाइँ लड्दैनौँ। खौरिदिन्छौँ।’

प्रधानमन्त्री ओलीले आफूले छिमेकीसँग देशको स्वाधिनता झुक्न नदिएको दाबी गरे । आफूसँग भएका सबै कुरा रेकडेर्ड भएको भन्दै ओलीले अनावश्यक शंका नगर्न आग्रह पनि गरे ।