• शान्ति लिम्बू

'फक्ताङ‌लुङको काखबाट 
सुसाउँदै बगेको 
चोखो तमोर खोला 
मिसिएर सात समुद्रमा 
आइपुगेको छ इङलिस च्यानल पार गरेर
र लन्डनलाई किनारा बनाएर बगिरहेछ 
यतिबेला थेम्स नदी अवतारमा
थेम्स नदीको किनारैकिनार 
हिडिरहेको छु म 
छाम्दै पदचापहरु मेरा पुर्खाले छोडेको 
सम्झिदै इतिहास…'

आज दिनभर तमोर नदीको किनारै किनार हिंड्नु छ । तमोरको वेग प्रवाह सप्तकोशी मिसिन झर्दै हुनेछ । म उकालो याक्थुङ लाजे उक्लने छु । शरीर धरानमा छ, आत्मा तमोर करिडोरको यात्रामा निस्किसकेको छ ।

'मुरिङ्ला खारिङ्लाको चौरमा 
घामको पहिलो उज्यालो छरिएजस्तै 
किरण हौ तिमी
थाप्लङ्वामा पूर्णिमाको शीतल जुन पोखी 
आँखाको नानी हौ तिमी 
तरङदिङ ताङसाङभन्दा फराकिलो छ 
निलो सागरभन्दा गहिरो छ- प्रेम तिम्रो
फक्ताङ्लुङ जस्तै अटल छ- साहस तिम्रो 
इम्बिरीयाङ्धावाको पानी जस्तै चोखो छ 
आँगनको डिलमा सेक्मुरी फूल फक्रिएजस्तै
मुस्कुराइरहने तिमी...'

पूर्वी नेपालको सुन्दर नगरी धरानबाट हाम्रो यात्रा अघि बढ्छ । हाम्रो गन्तव्य फेदेन । फेदेन अर्थात फिदिम । पाँचथर जिल्लाको सदरमुकाम फिदिमका लागि हामी धरानबाट भेडेटार हुँदै तमोर करिडोरको बाटो अघि बढ्छौं ।

भेडेटार बजार । सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी सीमामा अवस्थित छ । साँगुरीगढीको मुख्य बजार हो भेडेटार । पहाडको टुप्पोमा अवस्थित भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाइमा छ ।

धरानको जिरोपोइन्टबाट करिब १७ किलोमिटर उत्तरमा रहेको भेडेटार पहाडी क्षेत्रमा अवस्थित छ । तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न भारतीय पर्यटकको यहाँ घुइँचो लाग्छ ।

भेडेटारमा अवस्थित भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट जीर्ण अवस्था भएपछि अहिले स्काइवक टावरले प्रतिस्थापन गरेको छ । यहाँबाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरू देख्न सकिन्छ भने सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ ।

धरानबाट उकालो लागेका हामी भेडेटारमा खाना खाएर गन्तव्य तर्फ लाग्यौं । हाम्रो गन्तव्य फिदिम । फिदिमको यात्रामा मेरी सानी छोरी सान्फुङ, भान्जी शोभा, काका साहित्यकार तथा पत्रकार प्रदीप मेन्याङ्बो, सञ्चारकर्मी भाइ नवराज विष्ट यात्रामा छौं ।

प्राचीन समयमा याक्थुङ लाजे नामले चिनिएको पान्थरलाई  लिम्बुवान क्षेत्रको केन्द्रका रुपमा चिनिन्थ्यो ।  सदरमुकाम फिदिम अर्थात फेदेनको आम्बेपोजोकमा सातौं शताब्दीमा थिबोङ याक्थुङ र यत्हाङ अर्थात दस सरदार र आठ सरदार बीच घमासान युद्धपछि सन्धि सम्झौताका लागि पहिलो पटक चुम्लुङ भएको स्थल हो ।

फिदिमको यात्रा तमोर करिडोरबाट अघि बढ्छ ।

तमोर करिडोर नेपालको राष्ट्रिय राजमार्ग हो जसले सुनसरी जिल्लाको तराईलाई कोशी कोशी प्रदेशको पाँचथर जिल्लाको पहाडसँग जोड्छ । सुनसरी, धनकुटा, तेह्रथुम र पाँचथर हुँदै तमोर नदीको समानान्तर भएर यो करिडोर अगाडि बढ्छ । सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतराबाट सुरु भई धनकुटाको मूलघाट पुग्नु अघि कोशी राजमार्गलाई यसले क्रस (पार) गर्छ । तमोर करिडोर पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको अम्बरपुरमा टुङ्गिन्छ । सडकको कुल लम्बाइ १४५ किलोमिटर (९० माइल) छ ।

चतरास्थित मदन भण्डारी राजमार्गबाट सुरु भएर  मूलघाट पुग्नुअघि कोशी राजमार्ग क्रस गर्दै अघि बढेको तमोर करिडोरले  पुनः  माझिटारमा पुष्पलाल राजमार्गलाई क्रस गर्छ । र, मध्यपहाडी राजमार्गलाई भेट्छ । मेची राजमार्गमा विलय हुने यो सडक पाँचथरको हिलिहाङस्थित गणेशचोकभन्दा अगाडि अढाई किलोमिटरसम्म अगाडि बढेको छ ।

तमोर करिडोरबाट अघि बढ्दै गर्दा हाक्पारामा हामी अडियौं । यो क्षेत्र याक्थुङ लिम्बूहरूको प्राचीन लोकभाका हाक्पारे साम्लो उत्पत्ति स्थल हो । याक्थुङ लिम्बूहरूको सांस्कृतिक सङ्गीत हाक्पारे साम्लो याक्थुङहरूको विशिष्ट र मौलिक सङ्गीत हो । याक्थुङहरूको दु:ख, सुख, खुसी र जीवन पद्धतिको बयान हाक्पारे साम्लोबाट व्यक्त गरिन्छ ।

तमोर करिडोर अघि बढ्दै जाँदा कालोपत्रे सडक र स्तरोन्नति हुन बाँकी सडकका अनुभव, तमोर करिडोरका बस्ती र सुन्दरता हेर्दै हामी अघि बढ्यौं ।

हामी साँझ फेदेन बजार आइपुग्यौं । हाम्रो स्वागतमा स्थानीय कवि साहित्यकारहरू तयार हुनुहुन्थ्यो । कवि साहित्यकार, अन्वेषक डा. मधु केरुङ, समाजसेवी मनेष आङ्बोलगायतले हामीलाई न्यानो स्वागत गर्नुभयो ।

फेदेनमा हाम्रो उपस्थिति विशेष कार्यक्रमका लागि रहेको छ । 
सन् २०२५ मा च्यारिटी प्रोग्राम मार्फत आर्थिक सङ्कलन गरेर फालेलुङ आधारभूत विद्यालयका लागि पुस्तकालय भवन निर्माण भएको छ । २०८२ चैत २७ गते पुस्तकालय भवनको समुद्घाटन हुँदैछ । यसका अलावा हाम्रो उद्देश्य पुस्तक वितरण, विद्यार्थीलाई पोशाक वितरण, पुस्तकालयका लागि आवश्यक पूर्वाधार र भौतिक सामग्री प्रदान गर्नु रहेको छ ।

२०८२ चैत्र २८ गते शनिबार याक्थुङ लेखक संघको आयोजनामा फिदिममा एकल कविता वाचन कार्यक्रम आयोजना हुँदै छ । यतै साता प्रकाशित हुने मेरो प्रकाशोन्मुख कविता कृति 'थेम्सको लहरमा तमोर स्पर्श' बाट एकल  कविता वाचन हुँदै छ ।

यस्तै याक्थुङ लाजे लिम्बुवानका ऐतिहासिक स्थल च्याङथापु माङ्गेना यक अवलोकन गर्ने, फालेलुङ अवलोकन गर्ने र मेरो आफ्नो कर्म घर ओयाम पुग्ने कार्यक्रम छ ।

'फक्ताङ‌लुङको काखबाट 
सुसाउँदै बगेको 
चोखो तमोर खोला 
मिसिएर सात समुद्रमा 
आइपुगेको छ इङलिस च्यानल पार गरेर ...'

artical photo