धरान : वृद्धि भएको कर फिर्ताको माग गर्दै आन्दोलनरत नेपाली कांग्रेसलाई धरान उपमहानगरपालिकाले वार्तामा आउन पत्राचार गरेको छ ।
माग पुरा नभएको भन्दै आज मंगलबार उपमहागनरपालिका मुलगेटमा तालाबन्दी गर्न गएको बेला उपमहानगरले कांग्रेसलाई वार्तामा आउन पत्र थमाएको थियो । उपमहानगरले दिउँसो २ बजे वार्ताको लागि आह्वान गरेपनि कांग्रेसले ४ बजे वार्तामा आउने जनाएको छ । उपमहानगरले ५ जना वार्ता समिति आउन आह्वान गरेको छ । ‘ज्ञापन पत्र कांग्रेसले बुझाएकोले ५ सदस्यीय वार्ता समिति आउन कांग्रेसलाई पत्राचार गरेका छौं, हामीले २ बजेको लागि बोलायौं, तर उहाँहरुले ४ बजे मात्र आउछौं भन्नुभएको छ,’वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले भने ।
उपमहानगरले वार्तामा बोलाएपछि कांग्रेसले तालाबन्दीको कार्यक्रमलाई भने स्थगित गरेको छ । तालाबन्दी गर्न आन्दोलनरत दलहरुका नेता, कार्यकर्ताहरु भेला हुन थालेपछि बाक्लो संख्यामा प्रहरी पनि परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र जनपदको दंगाबाट सुरक्षामा सुरक्षाकर्मी खटिएका थिए । चर्को नाराबाजी गरिरहेका आन्दोलनकारीलाई प्रहरीले मुलगेटअघिको सडकमा रोकेका थिए ।उपमहागनरपालिकाले करिब १० बजे आन्दोलनकारीलाई वार्तामा आउन पत्राचार गरेपछि प्रहरी र आन्दोलनकारीबीच भिडन्त हुने खतरा टरेको थियो । उपमहानगरका प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडा आन्दोलनस्थलमा आएर कांग्रेस उपमहानगर सभापति तिलक राईलाई वार्ताको लागि पत्र बुझाएका थिए । पत्र बुझेपछि आन्दोलनरत दलहरुले कोणसभा गरी तालाबन्दी कार्यक्रम तत्कालको लागि स्थगित गरेका थिए ।
शुरुवातमा कर वृद्धिविरुद्ध कांग्रेस मात्र आन्दोलनमा भएपनि अहिले अन्य साना दलहरु पनि संयुक्तरुपमा आन्दोलनमा छन् । कांग्रेस नेतृत्वमा कुमार लिंदेन नेतृत्वको संघीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा, किरण बैध नेतृत्वको नेकपा क्रान्तिकारी, जनमोर्चा नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, खम्बुवान राष्ट्रिय मोर्चा र जनसरोकार मञ्च नेपाल पनि कर वृद्धिको संयुक्त आन्दोलनमा जुटेका छन् ।

1

 

तस्बिर:तालाबान्दी गर्न गएका विभिन्न दलका कार्यकर्ताहरु मुलगेटअघि नाराबाजी गर्दै ।