धरान: धरान उपमहानगरपालिकामा कर वृद्धिको बिषयमा भएको विवाद समाधान गर्न एक कार्यदल गठन भएको छ ।
आन्दोलनरत दल र उपमहानगरपालिकाबीच मंगलबार भएको बार्तामा विज्ञसहितको राजश्व सम्बन्धी सुझाव कार्यदल गठन भएको हो । कार्यदललाई १० दिनभित्र अध्ययन गरेर सुझाव प्रतिवेदन दिन समय तोकिएको छ । कार्यदलमा आन्दोलन पक्षबाट श्याम पोख्रेल, अनिल श्रेष्ठ र सञ्जुहाङ सँवा रहेका छन् भने उपमहानगरकोतर्फबाट वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु मणीराम राई, नरेश इवारम र मनोज भटँराई रहेका छन् । दुवै पक्षले आवश्यकता अनुसार विज्ञ राख्न सक्ने पनि सहमति भएको छ ।
उपमहानगरपालिकामा भएको वार्तामा आन्दोलनरत पक्षले विज्ञको रुपमा प्रा.डा.आशोककुमार झाको नाम सिफारिश गरेको छ भने उपमहानगरपालिकाले पछि नाम सिफारिश गर्ने जनाएको छ । करको दर र दायराको बिषयमा छलफल हुनुपर्छ भन्ने कुरा आयो, सुझाव दिन्छौं भन्ने पक्षको पनि राय, सुझाव समेट्न कार्यदल गठन भएको छ, कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन् ।
कांग्रेस सभापति तिलक राईले पनि कार्यदल गठनलाई सकरात्मकरुपमा लिएको र नगरबासीले कर तिर्नुपर्छ भन्ने महसुस हुनेगरी कार्यदलले काम गर्ने आशा व्यक्त गरे । कार्यदल गठन भएसँगै भदौ २ गतेदेखि शुरु गरेको कांग्रेसको आन्दोलत तत्कालको लागि स्थगित भएको छ । दोस्रो चरणको आन्दोलनअन्र्तगत उपमहानगरअघि धर्ना बसिरहेको कांग्रेसले अन्य साना दलहरुसमेत मिलेर मंगलबार बिहान मुलगेटमा तालाबन्दीको प्रयास गरेको थियो । तर, बिहान १० बजेतिर उपमहानगरपालिकाले पत्राचार गर्दै वार्तामा बोलाएपछि तालाबन्दीको कार्यक्रम स्थगन गरेको थियो ।