धरान:दुवै मृगौलाले बिग्रिएपछि उपचारत पुर्व उसु खेलाडी तथा भोलेन्टिर कोच बिकी राईलाई बराहराइनमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
बहराइनमा भएका २ सय ८ जना नेपालीहरुले राईलाई ८० हजार ७ सय १६ रुपैया सहयोग पठाएका हुन् । उक्त सहयोग बहराइनबाट घर आएका धरान १९, जिमी चोकका भुपेन्द्र राई(सयन)ले हस्तान्तरण गरेका थिए । उनले धरान १५ स्थित घरमा पुगेर विकी र उनकी श्रीमतिलाई उक्त सहयोग रकम प्रदान गरेका थिए । भुपेन्द्र र बिकी साथी पनि हुन् ।
बहराइनमा कार्यरत भुपेन्द्रले फेसबुकबाट बिकीको बारेमा थाह पाएपछि साथीहरुसँग मिलेर आर्थिक सहयोग जुटाएको बताए । ‘हामी साथी हौं, उसको बारेमा फेसबुकबाट थाह पाउदा दुःख लाग्यो । अरु साथीहरुलाई पनि भने, धेरैले उसलाई चिन्थ्यो र सहयोग जुटायौं,’भुपेन्द्रले भने । विदेशबाट सहयोग पाएकोमा खुशी व्यक्त गर्दै बिकीले सबैलाई धन्यवाद दिएका थिए । ‘विदेशमा रहेका साथीहरु, नेपाली दाजुभाईहरुले सम्झेर सहयोग पठाउनु भएकोछ, यो कहिल्यै विर्सने छैन,’उनले भने ।
विकी उसुका पुर्व खेलाडी हुन् । आफ्नो युवा ,उर्बर समय खेलकुदमा समर्पित गरेका विकीले एक दशकभन्दा बढी समयदेखि उसुमा भोलेन्टियर(स्वयमसेवी) प्रशिक्षक भएर काम गरिरहेका थिए । राष्ट्रिय खेलकुद परिषदबाट एनआईएस कोर्षसमेत गरिसकेका बिकीले जागिर भने कहिल्यै पाउन सकेनन् । निःशुल्क प्रशिक्षण गर्दै आएका उनको अहिले दुवै मृगौला खराब भएपछि उपचारमा आर्थिक अभाव झेल्दै आइरहेका छन् । उनको परिवारले भारतमा मृगौला प्रत्यारोपण गराउन तयारी गरिरहेको छ । कम्तीमा पनि २५ लाख खर्च लाग्छ । वलियो आयस्रोत नभएका राईको परिवारजनले ऋणपान गरेर प्रत्यारोपणको तयारी गरीरहेको छ ।

मृगौला रोग पीडित विकी राई र उनकी श्रमति(दाँया)लाई सहयोग हस्तान्तरण गर्दै भुपेन्द्र(सयन) ।