धरान  : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद दिव्यमणि राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय सामाजकल्याण परिषद् कार्यालयमा सार्न नहुने धारणा व्यक्त गर्नुभयो ।
सांसद चन्दा चौधरीले महिला र बलात्कार हिंसाका घटना वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै ऐन र नियम संशोधन गरी बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गर्नुभयो ।
सांसद प्रदीप यादवले निजगढ विमानस्थलको निर्माण छिट्टो शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउन माग गर्नुभयो । सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गर्नुभयो ।
सांसद मैनाकुमारी भण्डारीले हालैको वर्षात्को बाढी र पहिरोले बागलुङ जिल्लाका विभिन्न स्थानामा क्षति पुगेकाले तत्काल जोखिममा रहेका बस्ती सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दुर्गा पौडेललले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिटो सार्वजानिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।