धरान : संघ, प्रदेश र स्थानीय तहले संविधानबाटै प्राप्त आफ्नो मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकारको प्रयोग गर्दै आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग गरेर सम्मृद्ध प्रदेशको लागि क्रियाशिल रहन प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले आग्रह गरेका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश प्रवाह गर्दै सभामुख भण्डारीले प्रदेशको श्रीवृद्धिका लागि कृषिमा आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, पूर्वाधार निर्माण, रोजगारीमुलक शिक्षा नीति आजको अवश्यकता भएको बताएका छन् । साथै उनले संविधानले प्रदत्त गरेको अधिकारलाई अधिकतम सदुपयोग गर्दै प्रदेशलाई सम्वृद्ध बनाउन सबैको योगदान आवश्यक भएकोमा पनि जोड दिएका छन् ।
संविधानलाई पूर्ण कार्यान्वयन तथा अधिकतम उपयोगका लागि प्रदेश १ का नागरिकलाई सभामुख भण्डारीले अपिलसमेत गरेका छन् । प्रदेशको दिगो र समाबेशी विकासको लागि संविधानले दिएका हक अधिकारहरु प्रयोग गदै जनताको बलिदानबाट स्थापित लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने सभामुखको सचिवालयद्धारा जारी शुभकामनामा सन्देशमा भनिएको छ ।
‘वि.स. २०७२ असोज ३ गते आजकै दिनदेखि लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई देशको भाग्य र भविष्य आफैं निर्धारण गर्ने अभिभारा सुम्पेको दिन हो’सन्देशमा भनिएको छ ।