धरान : चालक मजदुरहरुको आन्दोलनले तीन दिनदेखि ठप्प भएको सवारी आवागमन शुक्रबार बिहानदेखि भने सुचारु भएको छ । संघर्ष समिति र जिल्ला प्रशासन कार्यालय बाराबीच बिहिबार भएको वार्तामा ४ बुँदे सहमतिपछि सार्वजनिक यातायात खुलेको भएको हो ।
चालकहरुले नयाँ मुलुकी ऐनमा दुर्घटनामा कुनै व्यक्ति वा यात्रुको ज्यान गएमा अवस्था हेरी जन्मकैद वा ५ देखि १२ बर्षसम्म कैद सजाय हुनेछ भन्ने कडा व्यवस्था भएको भन्दै ३ दिनदेखि गाडी चलाएका थिएनन् । निजी तथा भाडाका अन्य सवारीहरु गुडेपनि लामोदुरीको सार्वजनिक यातायातहरु नचल्दा सर्वसाधारणहरुले निक्कै सास्ती भोग्नु परेको थियो । वार्तामा भएको सहमतिअनुसार संघर्ष समितिले भदौ २७ गते जिल्ला प्रशासन कार्यालय बारामा प्रस्तुत गरेको १५ बुँदे माग पत्रलाई आवश्यक परिमार्जन तथा कार्यर्थ सम्बन्धित माथिल्लो निकायमा पठाउने निर्णय भएको छ । यस्तै,संघर्ष समितिको मागहरु कानुन तथा न्याय मन्त्रालयमार्फत तत्कालै कानुन संसोधन समितिमा पठाउने पनि निर्णय भएको छ ।
यसैगरी, सो कानुन संशोधन गर्न गराउन संघर्ष समितिका पदाधिकारीहरुसहितको प्रतिनिधि मण्डल सम्बन्धित मन्त्रालयमा जाने पनि वार्तामा निर्णय भएको छ भने संघर्ष समितिले विगत ३ दिनदेखि गर्दै आएको सवारीसाधन नचलाउने कार्य तत्काल स्थगन गरी सम्पुर्ण सवारीसाधन सञ्चालन गर्ने निर्णय पनि भएको छ । यो सहमतिसँगै शुक्रबार बिहानैदेखि यातायात सञ्चालनमा आएको छ ।

yatayata sahamati