धरान  नेपाली कांग्रेस सुनसरीले विधान संशोधन सम्बन्धि वृहत छलफल गरेको छ । केन्द्रीय समितिले विधान संशोधनको तयारी गरेपछि जिल्लास्तरमा पनि विधान संशोधनको बिषयमा कांग्रेसले छलफल चलाएको हो ।

कांग्रेसका सुनसरी जिल्ला सचिव एव प्रवक्ता सुजेन्द्र तामाङका अनुसार वैठकका सहभागीहरुले पाटीको संरचना र स्वरुपलाई राज्यको संरचना अनुसार निर्माण गर्नुपर्ने, समानुपातिक समावेशी बनाउनुपर्ने, सबै तहको कार्यसमितिको आकार र पदाधिकारीहरुको संख्या बढाउनुपर्नेलगायतका सुझाव दिएका छन् । यस्तै,सबै तहका पदाधिकारीमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुश्लिम लगायतको समेत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव पाएको प्रवक्ता तामाङले बताए ।

बैठकले विधान विपरित र अनुशासनहीन कार्य गर्ने जो कोही माथि कारवाहीको व्यवस्था हुनुपर्ने, सबै तहमा दुई कार्यकाल भन्दा बढी सभापति हुन नपाउने व्यवस्था हुनु पर्ने, पार्टीको सबै तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा पनि जोडदिएको थियो । सामुहिक नेतृत्व र स्पष्ट कार्य विभाजनको व्यवस्था हुनुपर्ने, क्रियाशील सदस्यता वितरण सम्बन्धि स्पष्ट नीति बनाउनु पर्ने, केन्द्रिय नेताहरु पनि वडा तह बाटै चुनिंदै जाने व्यवस्था हुनुपर्ने, भातृ र शुभेच्छुक संस्थाहरुलाई स्वायत्त बनाउनु पर्ने बिषयमा पनि सहभागीहरुले सुझाव दिएका छन् ।

जिल्ला सभापति राजिव कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकले सहभागीहरुको सुझावलाई लिपिवद्ध गर्न र जिल्लाको तर्फवाट पेश गर्ने सुझाव तयार गर्न एक समिति पनि गठन गरेको छ । नेपाली कांग्रेसका नेता चन्देश्वर शर्मा खत्वेको संयोजकत्वमा नौ सदस्यीय विधान संशोधन सुझाव मस्यौदा समिति बनाएको कांग्रेसले जनाएको छ । समितिका सदस्य सचिवमा डिएलए सुनसरीका सचिव रमेश दाहाल र सदस्यहरुमा जिल्ला सचिव डिएन मेहता, सहसचिव नगेशचन्द्र राई, जिल्ला सदस्यहरु राजदीप लामा, विमला ढकाल, वालसुधार परियार, महासमिति सदस्य राजिव ढुंगाना, नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष वेनु सिग्देल रहेका छन् । वैठकमा जिल्लास्थित केन्द्रिय नेता, संघ तथा प्रदेश सांसद, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्थाका नेताहरुको उपस्थित रहेको थियो ।