धरान : अन्र्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा बिहिबार सुनसरीका सञ्चारकर्मीहरूसँग ईटहरीमा सुरक्षित गर्भपतन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
२८ सेप्टेम्बर अन्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवसको रुपमा मनाइन्छ । सो अवसरमा युवा बिकास केन्द्र ईटहरीको आयोजनामा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा भिजिवल ईम्प्याक्टका अध्यक्ष मेधा शर्माले सहजिकरण गरेकी थिइन् ।
राष्ट्रियस्तरमा हालसम्मको तथ्याङ्क अनुसार ४२ प्रतिशत सुरक्षित गर्भपतन हुन्छ भने आधाभन्दा बढि असुरक्षित गर्भपतन गराईरहेको उनले बताइन् । समाजमा सुरक्षित भन्दा असुरक्षित गर्भपतन धेरै भएको तथा सुरक्षित गर्भपतनप्रति समाजमा नकारात्मक धारणा बढी रहेको बताइएको छ । सुरक्षित गर्भपतनलाई एउटा महिला किसोरीको अधिकार भन्दा पनि विकृतिको रूपमा लिईने गरेकोले उक्त बिषयमा सही सुचना सम्प्रेषण होस भन्ने उद्देश्यले सञ्चारकर्मीसंग अन्तरक्रिया गरिएको शर्माले बताइन् ।
हालसम्म सुरक्षित गर्भपतनका कार्यक्रम मुगु, दोलखालगायतका स्थानमा भईसकेको र आउने दिनमा विभिन्न विद्यालय, क्याम्पसमा पनि गरिने शर्माले जानकारी दिइन् । कार्यक्रममा युवा बिकास केन्द्रका कार्यक्रम संयोजक तारा चाम्लिङ्ग, वरिष्ठ पत्रकार याम प्रधानलगायत प्रदेश १ भरीबाट विभिन्न मिडियाका ५२ जना संञ्चारकर्मीहरु सहभागी थिए ।