काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग ब्रिटिश सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरूको हकहितको विषयमा नेपाल सरकारको गम्भीर चासो रहेको बताएका छन् ।
राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री ओलीले ब्रिटिश प्रधानमन्त्रीसँग भेटवार्तामा यस्तो बताएका हुन् । त्यसक्रममा उनले नेपाल र ब्रिटेन सम्बन्धको ऐतिहासिक महत्व रहेको भन्दै त्यसलाई नयाँ उचाइमा पुर्याउनुपर्ने धारणा राखेको अधिकारीहरूले जनाएका छन् । न्यूयोर्कको समयअनुसार बिहिबार साँझ राष्ट्रसंघको महासभामा सम्बोधन गरेका ओलीले अन्य उच्चस्तरीय भेटवार्ताहरू पनि जारी राखेका थिए । नेपाल र ब्रिटेनमा बसोबास गरिरहेका कैयौं अवकाशप्राप्त गोर्खा सैनिकहरूले समान पेन्सन लगायत थप अधिकारहरू दिलाउन नेपाल सरकारले ब्रिटेनसँग कूटनीतिक पहल गरियोेस भन्ने चाहना सार्वजनिक रूपमा नै राख्दै आएका छन् । राष्ट्रसंघको महासभाको मेसोमा ब्रिटिश प्रधानमन्त्रीसँग भेटवार्ताको साइत जुर्दा ओलीले भूतपूर्व गोर्खा सैनिकहरूको सवालबारे पनि कुराकानी गरेका हुन् । उक्त भेटवार्तामा सहभागी संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले भने,‘ प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सैनिकहरूको हकहित र वृत्तिविकासबारे कुरा राख्नुभयो र त्यसबारे नेपालको परराष्ट्र मन्त्रालयले गम्भीरतापूर्वक हेरिरहेको बताउनुभयो ।’लामो संघर्षपछि सन् २००९ मा ब्रिटिश सरकारले आफ्नो सेनामा कम्तीमा चार वर्ष सेवा गरेका तथा सन् १९९७ अघि सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरूलाई ब्रिटेनमा गएर बस्ने अनुमति दिएको थियो । त्यससँगै उनीहरूले आफ्ना ब्रिटिश समकक्षी समान पेन्सन तथा अन्य सुविधा आफूहरूलाई पनि दिइनुपर्ने माग गर्दै आएका छन् । प्रधानमन्त्री ओलीसँग भएका भेटवार्ताका बारेमा ब्रिटेन सरकारले कूनै पनि जानकारी सार्वजनिक गरेको छैन ।

कानूनी लडाइँ
विगतमा समान पेन्सन लगायतको माग सहित अवकाशप्राप्त गोर्खा सैनिकहरूले सुरूमा ब्रिटेनको एउटा उच्च अदालत र पछि मानवअधिकार सम्बन्धी युरोपेली अदालतमा कानूनी लडाइँ लडेका थिए । तर ती अदालतले पेन्सनलाई लिएर ब्रिटिश सरकारले अख्तियार गरेको नीति सहि रहेको निर्णय सुनाएका थिए। ब्रिटेन सरकारले गोर्खा सैनिकहरू अवकाशपछि नेपाल जाने गरेको र त्यहाँ बस्न खान कम खर्च लाग्ने गरेको जस्ता कारण दिँदै पेन्सनमा विभेद नभएको र समय समयमा त्यसमा वृद्धि हुने गरेको बताउने गरेको छ । दुई सय वर्ष भन्दा लामो समयदेखि गोर्खा सैनिकहरू ब्रिटिश सेनामा कार्यरत छन् । हाल तीन हजार गोर्खा सैनिक ब्रिटिश सेनामा सेवारत छन् । सन् २०२० बाट पहिलो पटक महिलाहरूलाई पनि गोर्खा सेनामा भर्ती गर्ने ब्रिटिश सरकारले बताएको छ । यसैगरी, प्रधानमन्त्री ओलीले ब्रिटिश प्रधानमन्त्री मेलाई नेपालको विकास तथा भूकम्पपछिको पुनर्निर्माणमा ब्रिटेनबाट प्राप्त सहयोगका लागि धन्यवाद पनि दिएका थिए । राजदूत कार्कीका अनुसार उनले मेलाई उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्न पनि निम्तो दिएका छन् । ओली र मेबीचको भेटवार्ताको केही अघिमात्रै ब्रिटेन सरकारले आफ्नो सहायता नियोगमार्फत नेपाल सहित ६ देशका छात्राहरूको शिक्षाका लागि झण्डै ७८ लाख पाउन्ड सहायता गर्ने घोषणा गरेको थियो । पाँच अफ्रिकी देश र नेपालमा कार्यन्वयन गरिने उक्त कार्यक्रमबाट १ लाख ७१ हजार छात्राहरूले शिक्षामा थप पहुँच प्राप्त गर्ने ब्रिटेन सरकारको भनाइ छ । प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि भेटवार्ता गरेका छन् । 

2 21 3 10

बीबीसी नेपाली सेवाबाट