धरान : प्रदेश नं १ को नाम र स्थायी राजधानीको मुद्दाले राजनीतिक तरंग पैदा भएको छ । प्रदेशको नाम के रहने र राजधानी कहाँ हुने बिषयले सबैको ध्यान तानेको छ ।
मुख्यमन्त्री शेरधन राईमाथि अस्थायी राजधानी विराटनगरबाट अन्यत्र सार्न लागेको भन्दै विराटनगरका उद्योगी, व्यापारी र राजनीतिकर्मीले मात्र होइन, त्यहाँका पत्रकारहरुले पनि निरन्तर खबरदारी गरिरहेका छन् । मोरङ र विराटनगर केन्द्रीय पत्रकारिताले अन्यत्र राजधानी वा प्रदेश राज्यको कुनै पनि अंग लैजान नहुने लविङ निरन्तर गर्दै आएको छ । त्यसैले उनीहरु अन्यत्रका सांसदले राजधानी सार्नुपर्छ भन्ने माग गर्दा र बहुमत सांसदहरु राजधानी विराटनगरबाट सार्ने पक्षमा हुदा पनि समाचार लेख्दैनन् ।
सुनसरीका एक सांसदले पनि आफुहरु विराटनगरका पत्रकारहरुको घेराबन्दीमा परेको बताए । सदनमा आफुहरुले बोलेको कुरालाई पनि त्यहाँका पत्रकारहरुले महत्व नदिने तर विराटनगरको पक्षमा बोल्दा मात्र समाचार लेख्ने गरेको उनको भनाई छ । ‘विराटनगरका सबै पार्टीका पत्रकारहरुको एउटै स्वर रहेछ, राजधानी विराटनगरबाट अन्यत्र सार्न हुन्न । त्यसैले हामीले सदनमा बोलेको कुरा पनि समाचार बन्दैन, तर हामीले निरन्तर बोलिरहेका छौं,’कपुरीन्युजसँग ती सांसदले भने,‘बहुमत सांसदहरु विराटनगरको विकल्प खोज्नुपर्छ भन्नेमा छ, बोलिरहेका पनि छौं, तर त्यहाँका पत्रकारहरु यो कुरा लेख्दैनन्, हामी घेराबन्दीमा परेका छौं ।’

kapuri- RAjdhani


नेकपाका ती सांसदका अनुसार संसदीय दलको बैठक चलिरहदा पनि विराटनगरका पत्रकारहरुले निरन्तर लविङ गरेका थिए । बैठक चलिरहदा एक छिन बाहिर निस्कदा पनि पत्रकारहरुले सांसद भेटेर राजधानी एकै ठाउँमा हुनुपर्छ भन्दै घेराबन्दी गरिहाल्थे । ‘एक छिन ट्वालेट निस्कदा पनि राजधानी एकैठाउ हुनुपर्छ भन्दै घेरा हालीहाल्थे,’बैठकबारे ती सांसदले भने,‘मन्त्रीहरुलाई पनि विराटनगरको वहुमत हुदैन भन्ने थियो, तर नेकपाभित्रकै बहुमत सांसद खुलेर विकल्प खोज्नेमा देखिए, मन्त्रीहरु पनि स्तब्ध भएका छन् ।’
नाम नखुलाउन आग्रह गरेका ती सांसदका अनुसार मोरङकै पनि माथिल्लो भेगका सांसदहरु विराटनगरको पक्षमा छैनन् । कांग्रेसका सांसदहरु पनि विकल्प खोज्नेमा छन् । राजधानीको बिषयमा अहिलेसम्म नेकपा नेतृत्वले ह्विप जारी नगर्ने भनेको ती सांसद बताउँछन् । मुख्यमन्त्रीले वृहत विराट क्षेत्र करिडोरको अवधारणाअनुसार प्रदेशसभा सुनसरीको इटहरी लैजाने मनसाय व्यक्त गरेका थिए । अहिले विराटनगर केन्द्रीत सञ्चारमाध्यम र पत्रकारहरु राजधानी छिन्नभिन्न बनाउन हुन्न भन्दै सकेसम्म विराटनगर नै राजधानी र सबै अंग त्यही हुनुपर्ने लविङमा छन् । एक पत्रकारका अनुसार विराटनगरका पत्रकारहरुबीचमा यो बिषयमा आन्तरिक समझदारी बनेको छ । ‘विराटनगरबाहेक अन्यत्र राजधानी बन्न हुन्न, मन्त्रालय र प्रदेशसभा पनि जान हुन्न भन्नेमा त्यहाँका पत्रकारहरुको एकमत छ,’एक पत्रकारले भने,‘त्यसैले प्रदेशसभामा इटहरी, धरान, धनकुटा वा गोठगाउँमा राजधानी लैजानुपर्छ भन्ने सांसदहरुले बोलेको कुरालाई पनि समाचार बनाउदैनन् ।’