इटहरी : प्रदेश एकको स्थायी राजधानी तोक्ने बिषयमा फेरी चर्चासँगै बिवाद चर्किएको छ । नेकपाको संसदीय दलको बैठकमा बहुमत सांसदहरुले विराटनगरको विकल्पमा सुनसरीलाई राजधानी बनाउनुपर्ने बताएको सार्वजनिक भएसँगै यो बिषय अहिले चर्चा र बिवादको चुलिमा छ । नेकपाका सांसदहरु इटहरीलाई राजधानी बनाउन चाहिरहदा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले भने मोरङको बिराटनगरकै पक्षमा देखिएका छन् । यद्यपी कांग्रेसले पनि संसदीय दलको बैठक आवहान गरीसकेको छ ।

प्रदेश सरकारले भदौ अन्तिम भित्रमा प्रदेशको नाम र राजधानी टुंग्याइ सक्ने बताएपनि अहिलेसम्म कुनै बिषयमा टुंगो लगाउन सकेको छैन । भौगलिक दृष्टिकोण, बाताबरण र जनसंख्या तथा बिकासको अवधारणा अनुसार सुनसरीको इटहरी नै प्रदेशको राजधानी उपयुक्त हुने नेकपाका सांसदहरूले बताउदै आएका छन । सुनसरी क्षेत्रबाट प्रदेश सभामा बिजयी बनेका प्रदेस सांसद सर्वध्वज साँवाले १ नं प्रदेशको स्थायी राजधानी इटहरीको बिकल्प नरहेको बताए । पूर्वको केन्द्रसँगै ब्यापारिक हबसमेत बनेको इटहरी चौरास्त बजार र शान्ति शुरक्षाको हिसाबले पनि मजबुत रहेकोले प्रदेशको स्थायी राजधानी इटहरी नै हुनुपर्ने उनले औल्याए ।
यता स्थायी राजधानी तोक्ने बिषयको बहस चलिरहदा बिकसित सहरहरू पनि आआफ्नो अडानसहित राजधानीको माग गर्न थालेका छन । भौगोलिक, जनसंख्या र बाताबरणको हिसाबले सुनसरीको धरान उपमहानगर प्रदेशको राजधानी हुनुपर्ने भन्दै धरानबासीहरू पनि जुर्मुराउन थालेका छन भने धरान संगै छिमेकि बनेको बराहक्षेत्र नगरपालीकाले पनि आफ्नो क्षेत्र प्रदेशिक राजधानी हुन योग्य रहेकोले अन्य सहरहरूभन्दा बराहक्षेत्रलाई नै तोक्न माग गर्दै आएको छ । कतिपयले मोरंगको गोठगाउलाई पनि राजधानीकोरुपमा प्रस्ताव गरेका छन् ।