इटहरी : प्रदेश नं १ को नाम के राख्ने भनेर अन्योल भइरहदा शनिबार सुनसरीको इटहरीमा वृहत छलफल एवं अन्तरक्रिया भएको छ ।

अन्तरक्रियामा पहिचान, भुगोल, ऐतिहासिकतालगायत विभिन्न आधारमा प्रदेशको नाम राख्नुपर्ने प्रस्ताव तथा अवधारणामाथि गहन बहस भएको थियो । नागरिक समाजले सरोकारवालाहरुलाई आमन्त्रणा गरेर आआफ्नो अवधारणा प्रस्तुत गर्न लगाएको थियो अन्तरक्रियामा प्रदेश १ लाई कोशी प्रदेश नामकरण गर्नुपर्ने उमानाथ रिजालले आफ्नो अवधारणा राखेका थिए । कोशीले सबैको मर्म बुझने र हिमाल, पहाड, तराईको प्रतिनिधित्व गर्ने भन्दै उनले आफ्नो तर्क राखेका थिए । त्यसैगरि, किरात प्रदेशका अभियन्ता एवं पत्रकार जनकऋषि राईले किरात कुनै जाति नभई इतिहास र सभ्यता भएकोले किरात नाम राख्न उचित हुने बताए । उनले किरात नेपालको साँस्कृतिसँग मेल खाने जिकिर गर्दै किरात नामकरण गर्दा उचित हुने बताएका थिए ।

सुनसरीका सत्यनारायण माझीले प्रदेश एकको नाम सगरमाथा राख्नु पर्ने प्रस्ताव गरेका थिए । सगरमाथा संसारकै अग्लो हिमाल भएकोले प्रदेशको नामकरण गर्नुपर्ने उनको तर्क थियो । यसैगरी, धरानका विजय लुम्फुङवा लिम्बुले एक नम्बर प्रदेशको नाम किरात– लिम्बुवान राख्नुपर्ने धारणा राखे । अरुणपूर्व लिम्वुवान ऐतिहासिक भौगोलिक क्षेत्रगत आधार भएको भन्दै उनले गोर्खा राजादेखि शाह वंशसम्मले पल्लो किरात लिम्बुवान भनेर उल्लेख गरेको भन्दै उनले सबै हिसावले किरात लिम्बुवान नाम राख्न उचित हुने बताए । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा,उपसभामुख सरस्वती पोखरेल लगायत समाजिक अगुवाहरुको उपस्थित रहेको थियो ।