काठमाण्डौं: काठमाण्डैं निर्वाचन क्षेत्र नं ७ का सांसदलाई राजिनामा गर्न लगाएर चुनाव उठ्ने तयारी गरेका नेकपा नेता वामदेव गौतमले चर्को आलोचना खेपेपछि त्यहाँबाट चुनाव नलड्ने भएका छन् ।
गौतमलाई पार्टी भित्रैबाट पनि आलोचना भएपछि उनी पछि हटेका हुन् । सामाजिक सञ्जालहरुमा दुई दिन यता गौतमविरुद्ध अभियान छेडिएको थियो । आफ्नै पार्टीका कार्यकर्ताहरुले पनि उनलाई सामाजिक सञ्जालहरुमा उडाइरहेका थिए भने भुमिगतशैलीमा निवार्चित सांसदलाई राजिनामा गराएको भन्दै पार्टी नेताहरु पनि असन्तुष्ट थिए ।

काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले गौतमलाई चुनाव उठाउनको लागि भन्दै पत्रकार सम्मेलन गरेर राजिनामा दिएको घोषणा गरेका थिए । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत राजिनामा पत्रसमेत पार्टी सचिवालायमा बुझाइसकेका थिए । तर, मानन्धरको ठाउँमा गौतमलाई चुनाव लडाउने बिषयमा पार्टीभित्र छलफल नभएको भन्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलाीसमेत असन्तुष्ट बनेपछि गौतमको योजना साकार हुन पाएन । जसले गर्दा गौतम पनि काठमाण्डौं ७ बाट चुनाव नलड्ने मनस्थितिमा पुगेको नेकपा स्रोतले जनाएको छ ।

देशभर बाम गठबन्धनको लहर छाइरहदा गएको संसदीय चुनावमा गौतम बर्दिया १ मा पराजित भएका थिए । केही समयअघि उनले डोल्पाका सांसदलाई राजिनामा गराएर चुनाव लड्न खोजेका थिए । तर, मतदाताहरुको साथ नपाउने देखेपछि त्यो योजना पनि असफल भएको थियो । त्यसपछि, बाँके र दैलखमा पनि गौतमले प्रयास गरेका थिए । कतैबाट संसदमा पुग्ने बाटो नदेखेका गौतमलाई काठमाण्डांै ७ का सांसद मानन्धरले साथ दिएपनि पार्टी भित्र र बाहिर महौल उनको पक्षमा हुन सकेन ।