धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भिम आचार्यले नेपालमा अझै २५ बर्षसम्म जनताले कम्युनिष्ट सरकार टिकाई रहने दाबी गर्दै अरु कुनै पनि पार्टीले सरकार बनाउन नसक्ने बताएका छन् ।

नेकपा धरान उपमहानगर कमिटिले दशैं, तिहार, छठ, इद, चासोक, साकेलालगायत चाडहरुको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै नेता आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन् । दुई ठुला कम्युनिष्ट पार्टी एक हुनु एतिहासिक परिघटना भएको भन्दै उनले अब २५ बर्षसम्म कम्युनिष्टकै सरकार हुने पनि ठोकुवा गरे । ‘दुई कम्युनिष्ट पार्टी एकता हुनु ऐतिहासिक परिघटना हो, दुरगामी महत्वको एकता हो । अहिले बहुमतको सरकार छ, अब २५ बर्षसम्म निरन्तर कम्युनिष्ट सरकार आइरहन्छ, अरु कुनै पार्टीले नताके हुन्छ,’आचार्यले भने ।

सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा नेता आचार्यले निरंकुश पञ्चायतविरुद्ध लडेको कांग्रेसले पञ्चायतको पालामा खडा भएको भौतिक संरचना, उद्योग कलकारखानालाई बेचीखाएर देशलाई कंगाल र ध्वस्त बनाएको पनि आरोप लगाए । उनले बहुदल आएपछि कांग्रेसले बाँसबारी छालाजुत्ता कारखाना, हेटौडा सिमेन्ट उद्योग, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखानालगायत सबै उद्योग बेचेर खाएको बताए । ‘अहिले दशैं लागेको छ, यो कसैलाई गाली गर्ने बेला त होइन, तर देश बिगार्ने कांगे्रस नै हो,’उनले भने,‘उद्योग जति सबै बेचेर खाएपछि उत्पादन छैन, निर्यात छैन, रोजगारी छैन, मुलक ध्वस्त बनायो, यस्तो कांग्रेसले अहिले फुर्ति गर्नुपदैन ।’

तीन तहमा नेकपाको सरकार भएकोले जनअपेक्षा बुझेर काम गर्न सुझाव दिदै नेता आचार्यले सबै जातजातिको सँस्कृति राष्ट्रको सम्पत्ति तथा सम्पदा भएको विचार राखे । युरोप, अमेरिकातिर भौतिक विकास चरम उत्कर्षमा पुगेपनि आफ्नो मौलिक सँस्कृति विर्सिएकोमा उनीहरुलाई आत्मग्लानी र पीडा भएको नेता आचार्यको धारणा थियो । ‘अग्ला महलहरु ठडिए, चरम भौतिक विकास भयो, तर सँस्कृति विर्सियौ भनेर उनीहरु डिप्रेशनमा छन्,’आचार्यले भने,‘सँस्कृति हरायो, विलायो भने मान्छे रोबोट जस्तै बन्छ, निरस हुन्छ । मान्छे सँस्कृति युक्त छ भने मात्र उसको जीवन पनि रसले भरिन्छ ।’
पुर्वएमाले नगर अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्धय धर्मराज निरौला, निर्मल वराल, तत्कालीन माओवादीका पुर्वपोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बो, पुर्वएमाले जिल्ला अध्यक्ष रमेश बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।