धरान: मेलाको विवाद भइरहदा बुधबार धरानमा विरोध र्याली र कोणसभा भएको छ । विभिन्न ६ वटा दल एवं संघसंस्थाहरुले संयुक्तरुपमा मेलाको विरोधमा र्याली र कोणसभा गरेको हो ।

संघीय समाजवादी फोरम, जनमुक्ती पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान मञ्च, धरान एकता समाज, किरात खम्बुवान साझा पार्टी, वाइसिएललगयात दल एवं संघसंगठनहरुले मेलाको विरोधमा र्याली निकालेको हो । धरान ७ शान्तिपथबाट निस्केको र्याली भानुचोक, छाताचोक हुदै उपमहानगरपालिका पुगेको थियो । बुधबारदेखि नगरपालिका विदा भइसकेको हुनाले कोही पनि कर्मचारी र जनप्रतिनिधिहरु थिएनन् । विरोधमा सहभागीहरुले मुलगेटबाहिर चर्को नाराबाजी गरेर पुनः र्याली भानुचोकतर्फ गएको थियो । भानुचोकमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै आन्दोलनको संयोजक सञ्जुहाङ साँवाले जनप्रतिनिधिहरु आएपछि धराने जनताले दुःख मात्र पाएको बताए । कर्मचारी र कमाउ धन्दा चलाउनेहरुको इसारामा जनप्रतिनिधिहरु चलेको भन्दै उनले बहुमतको दम्भ धेरै समय नटिक्ने पनि दाबी गरे । ‘जनप्रतिनिधि आएपछि जनताले के पायो ? बाटो जताजतै भत्केको छ, खाल्डाखुल्डी छ । त्यो मेलाको निर्णय गर्नुभन्दा खाल्डाखुल्डी मर्मत गर्ने निर्णय गर्दा के जान्थ्यो ?’साँवाले भने,‘मेलाबाट कति आम्दानी हुन्छ, र नगरमा के विकास हुन्छ भनेर जनप्रतिनिधिले भन्न सक्छ ? मेला लगाउन दिएर भ्रष्टचार गरेको छ ।’

संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष ताजुब लिम्बुले कर समायोजनबारे कार्यदलको दिएको रिपोर्टलाई थन्काएर निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी कार्यपालिकाले मेलाको निर्णय गरेर संस्थागत भ्रष्टचार गरेको आरोप लगाए । नगरमा मनपरी तन्त्र बढेको भन्दै उनले विकास निर्माणको एजेण्डाभन्दा मेलाको एजेण्डा महत्वपुर्ण हुनु दुःखद भएको बताए । उनले भने,‘धरानको विकासको एजेण्डाहरु अलपत्र छ, मेला लगाउने हतारमा निर्णय गर्ने ? आफ्ना निश्चित व्यक्तिलाई फाइदा पुग्न गरी भएको यो निर्णय संस्थागत भ्रष्टचार हो । मेला लगाउने निर्णय गर्दै गर्दा खै धरानको शान्ति सुरक्षालाई ध्यान दिएको ? सुरक्षा निकायसँग समन्वय गरेको ?’

कोणसभामा बोल्दै युवा कान्छी राईले जनप्रतिनिधिहरु पैसामा बिकेर मदिरा र जुवाजन्य मेला लगाउन स्वीकृति दिएको आरोप लगाए । उद्योग वाणिज्य संघ, होटल एशोसिएनजस्ता संस्थाले सस्तो बजार लगाउनुपर्नेमा गुण्डाहरुको आडमा जनता लुट्ने महंगो मेला लागेको उनले बताए । ‘धरानमा ४ बर्षसम्म मेला नलागेर शान्त थियो, अहिले किन लगाउनुपर्यो ? पैसामा बिकेर नेता, जनप्रतिनिधिहरुले मेला लगाउन दिएको हो,’उनले भने । कोणसभामा किरात खम्बुवान साझा पार्टीका कुमार राई र मंगोल नेशनल अर्गनाइजेशनका नगर अध्यक्ष लोकबहादुर राईले प्रहरी प्रशासनसँग समन्वय र सुरक्षाबारे सहकार्य नभएकोल मेलामा जनता असुरक्षित भएको बताए ।

एक सातामा एम्बुलेन्स किनिदिन्छुः लिम्बुवान नेता

लिम्बुवानी नेता अमर इजमले छिमेकी युवा समुहलाई एम्बुलेन्सको खाँचो परेको भए आफुले एक सातामा किनिदिने बताएका छन् । त्यसको लागि मेला लगाउनै नपर्ने पनि उनले दाबी गरे । ‘छिमेकीले मलाई जिम्मा दिओस्, मेला लगाउनै पर्दैन । म एक सातामा एम्बुलेन्स किनिदिन्छु,’संघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष इजमले भने,‘जनतालाई लुट मचाउने मेला लगाउनै पर्दैन, अभियान चलाउदा एम्बुलेन्स किन्ने पैसा एक सातामा उठ्छ । जुवा, मदिरा बेच्ने मेला आवश्यक छैन ।’