पथरी : दोहोरो स्वामित्व र सुकुम्बासी समस्या समाधानका लागि सरकारले पहलकदमी थालेको संघीय सरकारका न्याय कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बताएका छन् ।
मंगलवार पथरीशनिश्चरे ३ वीरेन्द्रनगरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै ढकालले सुकुम्बासी समस्याका लागि नीति नबनाई, लागत नराखी लालपुर्जा बाड्नु लव लेटर बाड्नु जस्तै हुने धारणा व्यक्त गरे । यसका लागि आफु संघीय सरकारमा नीति बनाउन लागेको र छिट्टै प्रदेश सरकारले लागत लिन सुरू गर्ने पनि मन्त्री ढकालले बताए । सुकुम्वासी समस्या सामधान गर्न आफ्नो रोडम्याप रहेकोले ५ बर्ष भित्रमा समाधान हुने उनको भनाइ थियो ।
यसैबीच उनले बक्राह खोला नियन्त्रण गर्न बजेट विनियोजन भइसकेको र काम थालेपछि बक्राह कटान नियन्त्रण हुने बताए । अर्को चुनावमा खोलाको गीत कसैले गाउनु नपर्ने मन्त्री ढकालको भनाइ थियो । विकास र समृद्धिको लागि सबैलाई समेट्न यो सरकार तयार रहेको समेत मन्त्री ढकालले बताए । पाँच बर्षको लागि बनेको यो सरकारले काम गर्दै गरेको तर परिणाम आउन केही समय लाग्ने उनले बताए । गलत गर्ने र असफल हुने अधिकार यो सरकारलाइ नभएको उनको भनाइ थियो ।
यसैबीच, पथरीशनिश्चरे नगरपालिकाले सुकुम्वासी समस्या सामाधानलगायत ५ बुँदे माग राखेर मन्त्री ढकाललाई ज्ञापन पत्र वुझाएको छ । नगर प्रमुख दिलिप राईसहित वडा अध्यक्षहरूले मन्त्री समक्ष ५ बुँदे माग पत्र वुझाएका हुन् । ज्ञापनपत्रमा दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास र सुकुम्वासीसहितको बसोवासको समस्या समाधान, वक्राहा नदीको व्यवस्थित तटवन्ध, वक्राहामा मौलीवारी जोड्ने झोलुङ्गे पुल निर्माण, पथरी डाइनिया सडक कालोपत्रे र नगरमा शीत भण्डारको व्यवस्थापनको माग राखिएको छ ।
विरेन्द्रनगरमा आयोजित कार्यक्रममा स्थानीय तर्फबाट सुरेन्द्र कार्कीले त्यहाको विकासको लागि ७ बुँदे माग मन्त्री समक्ष प्रस्तुत गरे । सिचाइको प्रवन्ध गर्न र वृद्ध विश्रामस्थल निर्माणको लागि सहयोग गर्न टंक प्रसाद पोखरेलले पनि ज्ञापनपत्र वुझाएका थिए ।