झापा: जिल्ला समन्वय समिति झापाबाट सरुवा भई अर्जुनधारा नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् । कार्यालयमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तोललाई सोमबार नगरपालिकाको सभा कक्षमा औपचारिक स्वागत गरिएको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयबाट आएका भूर्तोललाई नगर प्रमुख हरि कुमार राना, उप–प्रमुख कमला खतिवडाले ढाकाटोपी, खादा र अविरसहित स्वागत गरेका थिए । वडा अध्यक्ष, कार्यपालिका सदस्य, सासद नगरका कर्मचारी समेतको उपस्थिति रहेको थियो । उप– प्रमुख खतिवडाले नगरको आन्तरिक र बाहय श्रोत परिचालन गरी अर्जुनधारा विकासको गतिमा अघि बढाउन सफल कार्यकालको शुभकामना दिइन् । झापा प्रतिनिधि सभा–२ का सासद पवित्रा खरेलले नगरको विकास, समृद्धि, उन्नति र जनताको समस्या समाधान गरी अघि बढ्नुपर्ने बताइन् । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेकी खरेलले स्पष्ट, जवाफदेही र पारदर्शितासहितको काममा प्रमुख प्रशासकीयको ध्यान केन्द्रीत हुनुपर्ने बताइन् । नगर प्रमुख रानाले अधिकृत भूर्तोलको शिवसतासी नगरपालिकामा काम गरेको अनुभवलाई ध्यानमा राखेर अघि बढ्ने अपेक्षा व्यक्त गरे ।