धरान: प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली मौलिक साँस्कतिमाथि वैदेशिक हस्तक्षेप बढीरहेकोमा चिन्ता प्रकट गर्दै मौलिक सँस्कृति र पहिचान जोगाउनुपर्ने बताएका छन् ।

नेवाः सँस्कृति उत्थान मञ्चले सोमबार धरानमा आयोजना गरेको माता पञ्चकुमारी नृत्य २०७५ को उद्घाटन समारोहमा बोल्दै मन्त्री घिमिरले नेपाली सँस्कृतिलाई वैदेशिक हस्तक्षेपबाट जोगाउनु र पुस्ता हस्तान्तरण गराउनु मुख्य चुनौती रहेको पनि बताए । ‘हाम्रो सँस्कृतिमा विदेशी सँस्कृतिको हस्तक्षेप बढीरहेको छ, पश्चिमा सँस्कृतिले रेडियो, टिभि, फेसबुकबाट हाम्रो सँस्कृतिलाई धरापमा पारेको छ,’मन्त्री घिमिरले भने,‘समयअनुसार परिवर्तन हुनुपर्छ तर सँस्कृति र पहिचान नै हराउन दिनु हुदैन । दौरा सुरुवाल,टोपी, सारी चोलोको हाम्रो पहिचान विश्वमा नै अलग छ ।’

मौलिक सँस्कृति संरक्षण र संर्वद्धन गर्दै आउदो नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पनि मन्त्री घिमिरेको भनाई थियो । यसको लागि विभिन्न जातिय संघसंस्थाहरुले गम्भीर भएर मनन गर्न उनको आग्रह थियो । नेपालमा जस्तो विश्वको कुनै पनि अन्य मुलुकमा जाति, भाषा र सँस्कृतिको विविधता नभएको भन्दै मन्त्री घिमिरले यो नै नेपालको सम्पत्ति र सम्पदा भएको पनि बताए । ‘विविधतामा एकता नै हाम्रो पहिचान हो । अरु देशमा एउटै जाति, भाषी, धर्मको वर्चश्व हुन्छ । हाम्रोमा विविधता छ, यसलाई जोगाउनुपर्छ । हरेक जातिको सँस्कृति, सम्पदा संरक्षण गर्नुपर्छ,’मन्त्री घिमिरले भने ।

तस्बिर: सनम तामाङ