धरान: शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट छिटै फर्केर समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुने जनाएका छन् ।

अस्पतालबाट एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विगतमा देशबासी दिदीबहिनी, दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा आफु विश्वस्त रहेको जनाएका छन् । अस्पतालमा उपचाररत अवस्थामा सामाजिक सञ्जालहरुमा आफुप्रति भएको अर्नगल प्रचारबाजी भएको र उक्त प्रचारबाजीबाट भ्रमित, प्रभावित नहुन पनि प्रधानमन्त्रीले सबैलाई अनुरोध गरेका छन् ।
मुलुकका केही भागमा घटेका अनपेक्षित घटनाप्रति आफु संवेदनशील भएको प्रधानमन्त्री ओलीले खुलाएका छन् । ‘धर्म,सँस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृत्तिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन । यस्ता प्रकृतिका कार्यमा संलग्न जो सुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्छ,’प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,‘दंगा हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव विथोल्ने कार्यले केवल सुशासनलाई विथोल्छ । शान्ति सुव्यवस्था भंग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको हाम्रो महाअभियान विथोलिन्छ, विकासको मार्ग भत्किन्छ ।’

प्रधानमन्त्री ओलीले यस्तो कार्य नगर्न र यस्ता कार्यमा कसैलाई पनि नउकास्न सबैलाई सचेत गराएका छन् । उनले सबैलाई धार्मिक तथा सामाजिक सद्भाव र शान्ति सुरक्षा प्रतिकुल कुनै पनि घटनाबाट टाढा रहन पनि आह्वान गरेका छन् । ‘अपराध कर्ममा संलग्न हुने, अपराधका घटनासँग सम्बन्धित प्रमाणहरु नष्ट गर्ने, अपराधीको बचाउ गर्ने र अनुसन्धानमा बाधा अवरोध खडा गर्ने जो सुकैलाई पनि सरकारले कानुन वमोजिम कडा भन्दा कडा कारबाही गर्छ,’प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

44996422_10215130168158810_871710440751628288_o copy