उदयपुरः नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुई तिहाई बहुमत पाएको वर्तमान सरकार असफल भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्धारा बिहिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले सरकारको कार्यशैली र ढिलासुस्तीले जनतामा निराशा छाउन थालिसकेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गरे । बहुमतको सरकारले प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद निर्माण, प्रदेशस्तरीय प्रहरी र प्रशासनको व्यवस्थापनजस्ता अति महत्वपुर्ण कामहरु गर्न नसकेकोले सरकारले नै संघीयता असफल बनाउन खोजेको पनि आरोप लगाए । ‘दुई तिहाईको सरकार असफल भइसकेको छ, संघीयताको जग बसाल्ने महत्वपुर्ण कामहरु सरकारले गर्न सकेको छैन, यसले संघीयता नै असफल हुने अवस्था सृर्जना भयो, यसको जिम्मेवारी सरकार हो,’ उनले भने ।

नेता कोइरालाले आफ्नै पार्टी नेपाली कांग्रेसको प्रसंगमा पार्टी गुटबन्दीको शिकार भएर्कै कारण कमजोर बनेर गएको निर्वाचनहरुमा इतिहासकै नमिठो पराजय भोगेको पनि बताए । साथै, उनले नेतृत्वको कमजोरी र लाचारीपनले कांग्रेस यो अवस्थामा आइपुगेको पनि आरोप लगाए । कांग्रेस नेताहरुको गुटबन्दी हुनुमा नेतृत्वको अर्कमण्यता र संवादहिनता मुख्य कारण भएको नेता कोइरालाको दाबी थियो । नेतृत्व परिवर्तनले मात्र कांग्रेसमा सुधार आउने उनले बताए । ‘अर्को बर्ष(२०७६) फागुनभित्र पार्टीको महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्छ,’ नेता कोइरालाले भने ।