पथरी : मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाले स्थानीय शासन व्यावस्थापनको अनुभूति र कार्यलयको कामको पारदर्शिताका लागि जनगुनासो सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रवार वडा नम्बर ५ र ६ का जनताको गुनासो सुन्न र ती गुनासो सुनुवाई गर्न सो कार्यक्रमको आयोजना गरिएको हो । नगर उपप्रमुख यमुना बिष्ट बास्तोला प्रमुख अतिथि रहेको कार्यक्रममा वडा नम्बर ५ र ६ का स्थानीयबासीले आफ्ना गुनासोको चाङ्ग न्यायिक समिति समक्ष राखेका थिए । गुनासो न्यायिक समिति सामु राख्ने क्रममा वडा नम्बर ५ का उमानाथ अधिकारीले बजेट बिनियोजन, उपभोक्ता समिति, निर्माण समिति आदिको गठन गर्दा पारदर्शी र निष्पक्ष नभै पक्षधरको आधारमा हुने गरेको गुनासो गरेका छन् ।
त्यस्तै विकास निर्माणका कामहरुको अनुगमन फितलो भएको उनको गुनासो थियो । नगरपालिकाको अनुगमन समितिले मात्र अनुगमन गरेर नपुग्ने र स्थानीयको सहभागितामा अनुगमन समिति बनाइनु पर्ने उनको भनाई थियो । कार्यक्रममा गुनासो राख्ने क्रममा स्थानीयबासीले वडामा ज्येष्ठ नागरिक बिश्रामलयको आवश्यकता समेत औल्याएका छन् । शिक्षा र स्वास्थको क्षेत्रमा नगरद्वारा बनेको समिति, उपसमिति प्रभावकारी नभएको गुनासो स्थानीयले राखेका छन् । अनाधिकृत रुपमा मेडिकलहरु सञ्चालित रहेको र अनुगमन नभएको स्थानीयले गुनासो गरेका थए ।


वडा नम्बर ६ का नगेन्द्र रायमाझीले नगरले वृद्ध परिचय पत्र बितरण गरी यातायातमा छुट हुने आश्वासन दिएपनि यातायातका साधनले वृद्धहरुलाई दुव्र्यवहार गर्ने गरेको र परिचय पत्रको सम्मान पनि नभएको गुनासो पोखे । यस्तै वडा नम्बर ६ की पुनम खतिवडाले विकाश निर्माणका कार्यमा निर्माण समिति गठन गर्दा जानकारी विना सदस्य बनाउने गरेको गुनासो राखिन् । यस्तै वडा नम्बर ६ का राजन कुमार श्रेष्ठले वडा नम्बर ५ र ६ को सिमानामा विकास निर्माणको कार्यमा अर्काको मुख ताक्ने परिपाटीले विकास निर्माण अघि बढ्न नसकेको बताए । सो कार्यक्रममा नगरपालिकाको नामको बिषयमा आएको गुनासोको बारेमा बोल्दै न्यायिक समितिका कानुनी सल्लाहकार दिपक राईले जनप्रतिनिधि निर्वाचित भएको ६ महिना भित्रै कार्यपालिकाको निर्णय गरी नाम संशोधनका लागि पठाउनु पर्नेमा त्यसो नभएकाले अब केही समय नाम र केन्द्र परिवर्तन गर्न मिल्ने प्रावधान नभएको प्रस्ट्याए ।


सम्पुर्ण वडावासीको गुनासो सुनिसके पछि नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक बास्तोलाले जनता आफ्नो लागि सबैभन्दा ठूलो शक्ति भएकोले जनताको सम्पुर्ण गुनासाको सुनुवाई गर्न आफू सदैव तत्पर रहने बताइन् । वृद्धवृद्धा जनताको रेखदेख र स्वास्थ्य परीक्षणमा अझै सकृयता बढाउने उनले उद्घोष गरिन् । नगरपालिका र वडा कार्यलयका कर्मचारीले जनताको काम गर्न नमाने वा ढिलासुस्ती गरे तुरुन्त खबर गर्न आग्रह गर्दै आफू कार्वाही गर्न तत्पर रहेको पनि बताइन ।

गुनासो सुनुवाइ कार्यक्रममा उठेका सम्पुर्ण गुनासाहरुमा आफुले सुनुवाई गरी जनभावना अनुरुप कार्य सम्पादन गर्दै अगाडि बढ्ने उनले प्रतिवद्धता जनाइन् । शुक्रबार सम्पन्न सो कार्यक्रममा न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, न्यायिक समितिका कानुनी सल्लाहकार अधिवक्ता दिपक राई, वडा नम्बर ५ का वडा अध्यक्ष जोगबहादुर धिमाल, ७ का वडाध्यक्ष्य कपिलमणी ढकाल, वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता यामप्रसाद गुराँगाई, नगरका योजनाविद युवराज बास्कोटा लगायतले आफ्नो बिचार राखेका थिए ।

123