धरान: धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टको सप्ताहव्यापी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

धरान १८, बुद्ध चोकस्थित कलेजले आइतबारदेखि विविध कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम शुरु गरेको थियो । कलेजका सिईओ लोकेन्द्र श्रेष्ठको अध्यक्षता र सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राईको प्रमुख आतिथ्यमा कलेजले आफ्नो साताव्यापी कार्यक्रमको शुुक्रबार समापन गरेको छ । कलेजमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा सांसद राईले धरानलाई होटल व्यावसायको माध्यमबाट पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताए । धरानको भविष्य पर्यटनमा रहेको चर्चा गर्दै सांसद राईले धरान शैक्षिक हब बन्दै गएकोमा पनि खुशी व्यक्त गरे । उनले भने,'धरानको विकास र समृद्धिको लागि तपाई हामी सबैमा एकताको खाँचो छ।' सांसद राईले सहरी र ग्रामिण क्षेत्रको विकासलाई समानन्तररुपमा अघि बढाउनुपर्ने धारणा पनि राखे ।

45205570_189071795305548_5958141734394265600_n copy

कलेजले बर्षभरि उत्कृष्ट पठनपाठनमा दक्षता पाउने बिद्यार्थीलाई सम्मान तथा पुरस्कार बितरण गरेको थियो । साथै, बिद्यालयकका शिक्षक तथा बिद्यार्थी सम्मिलित मैत्रीपुर्ण फुटसल प्रतियोगीतामा विजयी पत्रकार टोलीलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो । कलेजमा आयोजित कार्यक्रममा नेकपा धरानका नेता चोत्लुङ, पुष्प अधिकारी, कृष्ण श्रेष्ठ, उत्तम श्रेष्ठलगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन बिद्यालयका बिद्यार्थी बिमला आलेमगर र एलन श्रेष्ठले गरेका थिए ।

आइतबार विद्यार्थीहरुलाई चिण्डे डाँडासम्म हाइकिङ गराउदै कलेजको साताव्यापी कार्यक्रमको शुरुवात भएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सरस्वती बालआश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खाजा वितरण गरेको कलेजले विद्यार्थीहरुबीच वत्तृत्वकला प्रतियोगिता गराएको थियो भने देशीलाइनस्थित होटल नवयुगको भ्रमण पनि गराएको थियो । यस्तै, धरान फिटनेश सेन्टरमा विद्यार्थीहरुलाई जुम्बा क्लास र पत्रकारसँग मैत्रीपुर्ण फुटसल पनि आयोजना गरेको थियो ।

२०७३ सालदेखि सञ्चालनमा आएको यो कलेजमा १८ महिने डिप्लोमा तहको होटल म्यानेजमेन्ट पढाई हुदै आएको छ । अहिले चौथो ब्याच अध्यापन भइरहेको छ भने तिहार पछि पाँचौं ब्याच शुरु हुनेछ । ‘छठ पछि केन्ट कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको ४ बर्षे बि.एच.एम. पनि शुरु हुन्छ,’सिईओ श्रेष्ठले भने ।

45219160_724149131278518_690216680579661824_n copy