कामाण्डौं : पुर्वमन्त्री मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो उनको ७७ वर्षको उमेरमा तुलाधरको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो । अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो।

उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, आज नै उनको निधन भएको हो । उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएकाले अस्पताल भर्ना गरिएको थियो । तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।

तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए । पञ्चायतकालमा २०४३ सालमा जनपक्षीय उम्मेदवारका रुपमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए ।

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए । तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए । त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन् ।