विराटनगर: प्रदेश नं १ को प्रदेश सरकारले तराईमा धुमधामले मनाइने छठ पर्वको अवसरमा विराटनगमा साँस्कृतिक महोत्सव गर्ने भएको छ ।

प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार छठ पर्वको अबसर पारेर जलपान तथा साँस्कृतिक महोत्सव कात्तिक २८ गते गर्ने जनाएको छ । शनिबार प्रदेश सरकारका मन्त्रीहरुले विराटनगरमा पत्रकार सम्मेलन गर्दै साँस्कृतिक प्रदेश १ सबै जातजातिको साझा थलो भएकोले नेपालीहरुको बिभिन्न चाडपर्बको सन्दर्भमा छठ पर्बको अवसरमा २८ गते कार्यक्रम गर्न लागिएको जनाएका छन् ।

कार्यवाहक मुख्यमन्त्री हिक्मत कुमार कार्कीले छठ पर्बलाई केन्द्रमा राखेर साँस्कृतिक उत्सव तथा जलपान कार्यक्रम आयोजना हुने जानकारी दिए । यस्तै, विभिन्न ९ वटा स्थानीय तहले आफ्नो स्थानीय संस्कृति झल्कने झाँकी, नृत्य तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पनि जानकारी दिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार साँस्कृतिक महोत्सवमा सुनसरीको गढी गाउँपालिकाले झाँगड, हरिनगरा गाउँपालिकाले मुस्लिम, दुहबी नगरपालिकाले थारु, मोरङको जहदा गाउँपालिकाले सन्थाल नृत्य प्रस्तुत गर्नेछ भने कटहरी गाउँपालिकाले बाँतर नृत्य, बिराटनगर महानगरपालिकाले माडवारी समुदायको पहिचान झल्कने नृत्य तथा झाँकी र धनपालथान गाउँपालिकाले राजबंशी समुदायको नृत्य प्रस्तुत गर्ने जानकारी दिइएको छ । यसैगरी, ग्रामथान गाउँपालिका र रंगेली नगरपालिकाले पनि स्थानीय पहिचान झल्कने साँस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गर्नेछ ।

यसैगरि, विराटनगरका युवा उद्यमीहरुको भेलाले अनिल शाहको संयोजकत्वमा १७ सदस्यीय सहयोग समिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त साँस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार दिपाश्री निरौला, विल्सन बिक्रम राई (तक्मे बुढा), गायक सुमित खड्का, मैथिल भाषी कलाकार ललितकुमार र संगीता लगायतका कालाकारहरुले पनि प्रस्तुती दिने कार्यक्रम रहेको महोत्सव कार्य संचालन उप समितिका संयोजक तथा सामाजिक विकास मन्त्रालयका उपसचिव उपेन्द्र दाहालले जानकारी दिएका छन् ।