इटहरी: स्वास्थ्य सम्बन्धी एक सर्वेक्षणले सुनसरीको इटहरीका ८१ प्रतिशत दिर्घ रोगीहरु निजी अस्पताल तथा क्लीनिकहरुमा निर्भर भएको देखाएको छ । नसर्ने रोगहरुका विषयमा जेनेभा विश्वविद्यालय अस्पताल र जेनेभा विश्वविद्यालयको नेतृत्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इटहरीमा गरेको एक सर्वेक्षणले सो तथ्याँक देखाएको हो । इटहरी उपमहानगरपालिकाका केही वडाहरुलाई आधार बनाएर गरिएको नमुना सर्वक्षणका क्रममा ८१ दशमलव ४ प्रतिशत दीर्घ रोगीहरु निजी अस्पताल र क्लिनिकहरुमा भर पर्ने गरेको पाइएको तथ्यांक सर्वाजनिक गरेको छ । जस अन्र्तगत ७९ दशमलव ६ प्रतिशत मधुमेह र ८३ दशमलव ४ प्रतिशत दिर्घ रोग रहेको सर्वेक्षणबाट देखिएको थियो । उक्त विषयमा सरोकारवालाहरुलाई जानकारी गराउन आयोजित कार्यक्रममा बिपी प्रतिष्ठानका प्रोफेसर डा निलाम्बर झाले नेपालमा साढे ६ लाख मधुमेहका रोगीहरु रहेको भएपनि आधा पहिचान हुन बाँकी रहेको समेत जानकारी दिए । जेनेभा विश्वविद्यालय अस्पताल र जेनेभा विश्वविद्यालयको नेतृत्वमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका उपायहरु खोजी गर्न शोर्धकार्य भई रहेको प्रतिष्ठानका एडिसनल प्रोफेसर डा. सुमनबहादुर सिंहले वताए । नसर्ने रोगहरुका विषयमा नेपाल, मोजाम्बिक, पेरुमा शोर्धकार्य भई रहेको समेत सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा वडा ८ का अध्यक्ष भुपेन्द बराल, स्वास्थ्यकर्मीहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।