पथरी: मोरङ्गको पथरीशनिश्चरे नगरको स्वास्थ्य कार्यक्रम मुलुककै उत्कृष्ट भएको एक कार्यक्रमका वक्ताहरुले वताएका छन ।

पथरीशनिश्चरेमा आयोजित कार्यशालाका वक्ताहरुले पथरीशनिश्चरे नगरले जस्तै स्वास्थ्य सेवा दिए जनतामा स्वास्थ्य सेवा सरल र सहजरुपमा पुग्ने धारणा राखे । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानवहादुर बस्नेतले जिल्लाको पथरीशनिश्चरे नगर स्वास्थ्य कार्यक्रम उत्कृष्ट भएको बताए । मोरङ, झापा र सुनसरी जिल्ला हेर्ने डिभिजन कार्यालयकारुपमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख वस्नेतले नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुको बार्षिक प्रगति तथा समीक्षा गोष्ठी समापनका अवसरमा उक्त धारणा राखेका हुन् ।

वस्नेतले सो नगरले नयाँ आयाम थप्ने र नयाँ मुस्कान भर्ने काम गरेको देख्दा आफु निकै खुसी भएको पनि बताए । नगरका जनप्रतिनिधिहरुको इच्छाशक्ति दर्विलो पाएकोले स्वास्थ्यसहितका क्षेत्रमा प्राइभेट पब्लिक पार्टनरसीपको अवधारणा समेत अघि बढाइएकोमा उनले खुशी व्यक्त गरे । नगर प्रमुख दिलिपकुमार राईले नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा अन्य नगरहरु भन्दा नौला कार्यक्रमहरु ल्याएको बताए । उनले ५ प्रकारका दीर्घरोगीलाई जीवनमा एकपटक १५ हजार सहयोग, ७० वर्ष माथिका ज्येष्ठहरुका लागि १ नम्वर प्रदेशभरि एकतर्फी एम्वुलेन्स भाडा व्यहोर्ने, ८० वर्ष माथिकालाई घरघरमा स्वास्थ्य परीक्षणसहितका नगरका चर्चामा रहेका कार्यक्रमहरुका बारेमा जानकारी गराए । IMG_0410 copy

कार्यक्रममा नगरका ३ वटा स्वास्थ्य चौकीमध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने पथरी स्वास्थ्य चौकीलाई एलइडी टेलिभिजन प्रदान गरिएको थियो । सो अवसरमा नगरपालिकाले चालु आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा छुट्याएको १ करोड रकमको योजना समेत प्रस्तुत गरिएको थियो । दुई दिने गोष्ठीमा नगर कार्यपालिका सदस्य तथा स्थानीय अस्पतालका प्रमुखहरुको सहभागी थिए । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा नगरमा रहेका ३ वटा स्वास्थ्य चौकी, एउटा शहरी स्वास्थ्य केन्द्र, १६ वटा खोप केन्द्र, १२ वटा गाउँघर क्लिनिक तथा ३० जना महिला स्वास्थ्य स्वयमसेविका मार्फत भएका स्वास्थ्य गतिविधिका बारेमा जानकारी गराइएको छ । साथै नगरमा रहेका पथरी, मोरङ र कावेली अस्पतालका पछिल्ला ३ वर्षका तुलनात्मक गतिविधिका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।