विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा आशा मर्न नदिन परिणाम देखिने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

आज बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले जनतामा उत्साह जगाउने गरी काम गर्न निर्देशन दिएका हुन् । ‘जनतामा निराशा छाउँदै गएको हो कि भन्ने देखिन्छ । सरकारले काम गर्न नसकेको कुराहरु आउन थालेको छ, जनतामा उत्साह जगाउने र विश्वास जाग्ने काम गर्नसक्नुपर्छ, जनताको आशा मर्न दिन हुदैन,’ मुख्यमन्त्री राईले भने । उनले आवश्यकता र चाहनालाई मध्यनजर गरेर काम गर्न पनि निर्देशन दिए ।

प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न पनि मुख्यमन्त्री राईले निर्देशन दिएका छन् । प्रदेश मातहत संरचनाहरु बनेको र अब काम गर्ने विन्दुमा पुगेको पनि उनको भनाई थियो । ‘आर्थिक बर्षको ४ महिना सकियो, अब बाँकी रहेको समय खेर नफाली निर्देशिका, कार्यविधि, कर्मचारी, कार्यालय सबै तयार गरेर बजेट कार्यान्वयन गर्नुपर्छ ।’

बजेट कार्यान्वयनमा बाहानबाजी गर्ने छुट कसैलाई नभएको भन्दै मुख्यमन्त्री राईले काम गर्न आइपरेको समस्या माथिल्लो निकाय, तालुक मन्त्रालयमा जानकारी गराउन पनि सबैलाई आग्रह गरे । उनले मन्त्रीपरिषदबाटै भएपनि काम गर्ने सहज वातावरण बनाउन आफु तयार रहेको बताए ।