इटहरी: थारु जातिको धार्मिक, सांस्कृतिक एवं अमूर्त सम्पदाकारुपमा रहेका ग्रामथानहरुको संरक्षण गर्न जिल्लास्तरीय संरक्षण समिति गठन गरिएको छ ।

‘आदिवासी जनजातिको पहिचान तथा आदिवासी अधिकारका लागि भूमि संरक्षण’ बिषयक एक दिने अन्तरक्रियामूलक अभिमुखीकरण कार्यक्रमसँगै ग्रामथान संरक्षण समिति पनि गठन गरिएको हो । दर्ता भएर पनि सुस्ताएको समितिलाई पुर्नगठन गरि सक्रियतापुर्वक अभियान शुरु गरिने बताइएको छ । इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित बिछुधामी ग्रामथानदेखि पूर्वपट्टिको जग्गा भएका दामोदर पोख्रेलले अदालतको आदेश भन्दै गत जेठ १९ गते सशस्त्र प्रहरी टोली ल्याई थारु जातिको परम्परागत धार्मिकस्थल बिछुधामी ग्रामथान भत्काइएको थियो । हाल जुझारु थारु महिलाहरु र ग्रामथान संरक्षण समितिले चन्दा संकलन गरेर सोही ठाउँमा नयाँ बिछुधामी ग्रामथान निर्माण गरेको छ । सो ग्रामथानदक्षिणमा अवस्थित परम्परागत जीतिया घाट पोखरीको पनि हाल ग्रामथान संरक्षण समितिले संरक्षण गरिरहेको छ ।

समिति गठन अघि अन्र्तक्रियाका सहभागीहरुले आदिवासीको सबै अधिकार भूमिसँग सम्बन्धित रहेकाले अब भूमि अधिकारका लागि एकजूट भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । इटहरी उपमहानगर १ स्थित बिछुधामी ग्रामथान संरक्षण समिति सुनसरीको आयोजना तथा लाहुर्निपको कानुनी एवम् प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको थियो । लाहुर्निपका आदिवासी मानव अधिकार प्रतिरक्षक क्षेत्रीय प्रमुख गोपाल देवानले आदिवासी र भूमिबीचको सम्बन्ध नङ–मासुको सम्बन्ध भएको बताउँदै अब आदिवासीले सिद्धान्तमा टेकेर होइन, समस्यालाई टेकेर अधिकार प्राप्तिको आन्दोलन उठान गनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी अधिकारका लागि गैरआदिवासी अभियन्ता पदम अधिकारीले आदिवासी अधिकार भूमिसँग जोडिएको र भूमि नै आदिवासीको पहिचान भएको हुँदा भूमि अधिकार र पहिचानका लागि आदिवासी समुदायहरु एकजूट हुनुपर्ने धारणा राखेका थिए । आदिवासी अधिकारका लागि गैरआदिवासीको सहयोग र समर्थन लिनु पनि आवश्यक रहेको उनको भनाइ थियो ।

अर्का आदिवासी अभियन्ता तेजनारायण चौधरीले आदिवासीको भूमि नै संस्कृति हो भन्दै भूमि र प्रकृति नै जीवन पद्धति भएका आदिवासीहरुले आफ्नो सांस्कृतिक तथा धार्मिक सम्पदाहरु जोगाउन जागरुक हुनुपर्ने बताए । उनले थारु समुदायको जीवन र संस्कृतिसँग सम्बन्धित सुनसरीका ग्रामथानहरुमाथि अतिक्रमण भइरहेको बताउँदै त्यसविरुद्ध एकजूट हुन आग्रह गरे ।
थारु जातिका आदिवासी अधिकार अभियन्ता साबित्री चौधरीका अनुसार सुनसरीमा करिब डेढ सय बढी ग्रामथानहरु रहेका छन् तर ती ग्रामथानहरुलाई आक्रमण र अतिक्रमण गर्ने घटनाहरु दिनहुँ बढिरहेका छन् । थारु जातिको आस्था, विश्वास र अध्यात्मसँग सम्बन्धित ती ग्रामथानहरुलाई विभिन्न खाले अतिक्रमणबाट जोगाई संरक्षण गर्नका लागि सो समितिले निकट भविष्यमै वडास्तरी अभियान संचालन गर्ने अभियन्ता चौधरीले बताइन् । कार्यक्रममा विभिन्न पार्टी तथा थारु जातीय संस्थाका प्रतिनिधिहरुले सांस्कृतिक भूमि र ग्रामथानको महत्वमाथि प्रकाश पार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ग्रामथानको मुद्दालाई उठान गर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले पहिले नै दर्ता गरिसकिएको ग्रामथान संरक्षण समितिलाई जिल्लास्तरीय संयन्त्र बनाई उक्त समितिअन्तर्गत सुनसरीमा रहेका ग्रामथानहरुको खोजी तथा गणना गरी वडास्तरीय संरक्षण समिति विस्तार गरिने र तिनै समितिहरुमार्फत् संरक्षण अभियान शुरु गर्ने सहमति गरिएको छ ।