धरान: सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी च्याप्टरले धरान ११ स्थित मंगलबारेमा निः शुल्क मधुमेह स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आयोजक संस्थाले सय भन्दा बढीको ब्लड सुगर र रक्तचाप परीक्षण गरेको थियो भने निःशुल्क परामर्श पनि दिएको थियो । उक्त शिविरमा १५ जनामा रगतमा चिनीको मात्रा बढी भएको भेटिएको थियो । जसमध्ये १२ जनाले औषधी सेवन गरिरहेका थिए । यस्तै, २२ जनामा उच्च रक्तचाप भेटिएको संस्थाकी कार्यक्रम आयोजक सुशिला गौतमले जानकारी दिइन् । रगतमा अत्याधिक सुगर मात्रा भएका व्यक्तिहरुलाई थप परिक्षणका लागि बिपी प्रतिष्ठान रिफर गरिएको पनि आयोजक संस्थाले जनाएको छ । शिविरमा डाएबेटिस र उच्च रक्तचाप सम्बन्धी जानकारी लेखिएका सामाग्रीहरु पनि बितरण गरिएको थियो । बढ्दो उमेर वा मोटोपनले गर्दा चिनी रोगले सताउने र विशेषगरी खानपिनमा ध्यान नदिने, शारीरिक व्यायमको अभ्यास नगर्ने कारणले बयस्क उमेरदेखि नै चिनी रोगले सताउने आयोजक संस्थाका अध्यक्ष लोकेन्द्र अवस्थीले बताए ।