इटहरी : इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी बिहान साढे ११ वजे इटहरी खनारस्थित शारदा उच्च मावि पुगे ।

उनी स्कुलको कक्षा ९ मा सरासर पसे । शिक्षिका विज्ञान विषय पढाउदै थिइन् । एक जना विद्यार्थीलाई मेयर चौधरीले एचटुओ(H2O)भनेको के हो ? भनेर सोधे । विद्यार्थीले पानी भनेर जवाफ दिएपछि मेयरले पनि धन्यवाद दिए । फेरी उनले सिएचथ्री (CH3) भनेको के हो रु भनेर अर्का विद्यार्थीलाई सोधे । विद्यार्थी एकछिन अकमकाए । शिक्षिकाले जवाफमा, सर यो पाठ त पढाएकै छैन भनिन् ।
त्यसपछि, मेयर चौधरीले विद्यालयका शिक्षक कर्मचारीको हाजिरी निरीक्षण पनि गरे । दश कक्षासम्म ८ सय ५ जना विद्यार्थी रहेको सो स्कुलमा २५ जना शिक्षक कर्मचारी छन् । त्यसमध्ये दुई जना विदामा र एक जना अनुपस्थित रहेको देखिएको थियो । विद्यालयका प्रधानाध्यापक कमलप्रसाद सापकोटाले जानकारी गराएरै एकजना अनुपस्थित रहेको बताए । स्कुलमा तीन दिन अघिमात्र विद्युतीय हाजिरी सुरु गरेको पनि जानकारी दिए ।

mair 1

शारदा उच्च मावि खनारको छडके निरीक्षण पछि मेयर चौधरी इटहरीकै पुरानो जनता स्कुलमा पुगे । प्रवेश गर्ने ठाँउमा स्लाव वनाएर अपाङ्गमैत्री वनाएको थियो । विद्युतीय हाजिरी, सीसी क्यामरा प्रयोग गरेको र विद्यार्थीहरुको मूल्यांकन गर्ने गरेको निरीक्षणको क्रममा फेला पर्यो । त्यहाँ ३२ जना शिक्षक भएकोमा दुई जना काजमा र तीन जना विदामा थिए । जनता माविको एउटा कक्षामा स्कुलका व्यावस्थापन समितिका अध्यक्ष काशी दंगाल स्वयम् पनि कक्षा १० मा कक्षा लिदै गरेको भेटिएका थिए । उनका अनुसार विद्यालयमा शिक्षक अनुपस्थित भएका बेला कक्षा खाली हुन नदिन आफैले कक्षा लिने गरेकय छन् ।

त्यहाँ विद्यार्थीहरुले फुर्सद नाम गरेको एउटा कापी ल्याउदा रहेछन् । जसमा कुन दिन कुन शिक्षक कक्षामा आएनन्, सोको मितिसहित लेख्ने र खाली रहेको कक्षामा पढेको कुरा उक्त फुर्सद कापीमा उल्लेख गनुपर्ने नियम बनाइएको रहेछ । त्यो कपीलाई व्यवस्थापन समितिका अध्यक्ष दंगालले मात्र चेक गर्ने गरेका छन् । मेयर चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि शैक्षिक संस्थाहरुमा छड्के निरीक्षण थालिएको बताए । ‘शैक्षिक गुणस्तर बृद्धि हुनुपर्छ, त्यसैको लागि छड्केमा गएको हुँ । यस्तो निरीक्षण नियमित हुनुपर्छ,’उनले भने ।

mair 3