पथरी: पथरीशनिश्चरेमा रहेको इन्द्रकमल बास्कोटा प्रतिष्ठानले पथरी शनिश्चरे ३ मा रहेको जनता माविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिष्ठानले बिहिबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी ५० जना विद्यार्थीहरुलाई स्विटर वितरण गरेको हो । जाडोमा विद्यार्थीहरुलाई विद्यालय आउन सहज होस् भनेर स्विटर वितरण गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार युवराज बास्कोटाले जानकारी दिए । सोही कार्यक्रममा प्रतिष्ठानले १ लाख रुपयाँको अक्षयकोष पनि विद्यालयमा स्थापना गरेको छ । विद्यालयको सहकार्यमा २५ विद्यार्थीलाई दैनिक खाजा खुवाउने कार्यक्रमको पनि बिहिबार नै सुरुवात गरिएको छ । विद्यालयका २५ जना अति निम्न विद्यार्थीहरुलाई प्रतिष्ठानले एक बर्षसम्म दिउँसोको खाजा खुवाउने भएको छ ।

कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस किसिमका कार्यक्रमले विद्यालय जान नसकेका बालबालिकालाई विद्यालयसम्म पु‍र्याउन सहयोग पुग्ने बताइन् । सोही वडाका वडाअध्यक्ष डम्बर चेम्जोङ, प्रअ पदम सापकोटा र प्रमुख सल्लाहकार बास्कोटाले आफ्ना धारणा राखेका थिए । विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको प्रतिष्ठानले यो कार्यक्रमलाई पछि पनि निरन्तरता दिने जनाएको छ ।