इनरुवा: इनरुवा नगरपालिकाले सूचना उपलब्ध नगराएको भन्दै नागरिक जागरुक दवाव समुहले सूचना आयोगमा उजुरी दिएको छ ।

राष्ट्रिय सूचना आयोग काठमाडौंमा समूहका सह–संयोजक दिनेशकुमार लम्सालले उजुरी दिएका हुन् । उनको पुनरावेदन सम्बन्धी उजुरीलाई आयोगका उपसचिव बावुराजा श्रेष्ठले तोकआदेश दिएपछि १२०८ नम्बरमा बुधबार दर्ता भएको छ । लम्सालले आफु र आफुआवद्ध रहेको समूहका नामबाट दिएको उजुरीमा इनरुवा नगरपालिका नगरकार्यपालिकाको कार्यालयलाई विपक्षी बनाईएको जनकारी दिए ।

गएको कार्तिक १४ गते लम्सालले आवश्यक सुचनाहरु उपलब्ध गराई पाऊ भनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष निवेदन दिएका थिए । निवेदन दर्ता भएपनि पाउनु पर्ने समयसीमा भित्र सूचना नदिएपछि उनले आयोगमा उजुरी दिएका ह्न । निवेदनमा आर्थिक बर्ष २०७४/०७५ र चालु आार्थिक बर्षको असोज मसान्त सम्ममा खरीद गरिएका सवारी साधनहरु, मेसिनरी सामानहरु, सूचना प्रविधिका सामानहरु खरीद प्रक्रिया, सोको बिल भपाई र सम्झौताको जानकारी माग गरिएको थियो ।


यसैगरी स्थानीय तहमा निर्वाचित भएपछि हालसम्मको विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा वितरण गरिएको आर्थिक सहायता, चन्दा र पुरस्कार, मेयर उपमेयर, वडाअध्यक्षहरु कार्यपालिकाका सदस्यहरु वार्ड सदस्यहरु र कर्मचारीले लिएको पेश्की रकमको पूर्ण विवरण माग गरिएको थियो । नगर र वडा तहसम्मका निर्वाचित जनप्रतिनिधिहरुले लिएको बैठक भत्ता लगायतका सेवा सुविधाहरु, आर्थिक बर्ष २०७३/०७४ र २०७४/०७५ मा भएको आम्दानी र विभिन्न शिर्षकमा भएको खर्चको विस्तृत विवरण पनि उनले माग गरेका थिए ।