झापा: वीरता लेडी जेसीजको आयोजना र कालीस्थान बहुद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका–९ स्थित कालीस्थान माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन् । शिविरमा विर्तामोडस्थित कञ्चनजंघा अस्पतालका मुटुरोग विशेषज्ञ डा.सि.पी. यादव, मेची डेन्टल केयर सेन्टरका दन्तरोग विशेषज्ञ, समृद्धि कार्की, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ममता घिरैया, बालरोग विशेषज्ञ राजेश मिश्र, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्रकाश श्रेष्ठ, सञ्जीवनी अस्पतालका जनरल फिजिशियन डा. मिङ्कु झा, इन्टरनल मेडिसिन सम्बन्धी डा. प्रमोद शाह, दृष्टि आँखा अस्पतालका चिकित्सकद्वारा आँखा सम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो । यसैगरी महिलाहरुको पाठेघरमा हुनसक्ने क्यान्सरको सम्भावना रजोखिम पत्ता लगाउने भि.आइ.ए. परीक्षणमा नेपाल परिवार नियोजन संघका प्राविधिकहरुको टोलीले सेवा प्रवाह गरेका थिए । बीरता लेडी जेसीजद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सामाजिक सेवा, ब्यवसाय र मानसिक सशक्तिकरणमा सक्रिय हुने प्रेरित गर्ने जेसीजका कार्य उदाहरणीय र सिर्जनशील भएको बताए । कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षको तर्फबाट राधा सुब्बा, कालिका बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णवहादुर तामाङलगायतले शुभकामना राखेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल, परिवार नियोजन संघका पूर्व अध्यक्ष दिपेन्द्र ढकाल, अर्जुनधारा वार्ड नं १० का अध्यक्ष बलदेव गोम्देन, कालीस्थान मा.वि.का प्रधानाध्यापक इन्द्र उप्रेती, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चापागाई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, लेडी जेसीजका आजीवन सदस्य शिला ढकाल, मेची प्राविधिक शिक्षालयका सञ्चालक दुर्गा उप्रेती, रौनियार सेवा समाजका अध्यक्ष संगीता रौनियार, मेची डेन्टल केयर सेन्टरका सञ्चालक नविन सिटौला, शनिश्चरे उद्योग बाणिज्य संघका सचिव चतुर्भुज काफ्लेलगायत उपस्थिति थियो । वीरता लेडी जेसीज २०१८ का अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पूर्व अध्यक्ष रजनी बजगाईले गरेकी थिइन् । स्वास्थ्य संयोजक स्वस्तिका आचार्यले स्वागत र हिमा पौडेलले आस्थावाचन गराउनुभएको कार्यक्रमको सञ्चालन महासचिव सरु भुर्तेलले गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारणले मुटु, आँखा, दाँत, स्त्री तथा प्रसूति, भि.आइ.ए. परीक्षण, हाडजोर्नी लगायतका सेवा आफ्नै गाउँघरमा एकैस्थानबाट प्रवाह गरेर विर्ता लेडी जेसीजले अत्यन्तै राम्रो र उदाहरणीय कार्य गरेको बताएका थिए ।