धरान:कञ्चनपुरकी निर्मला पन्तको बलात्कार गरी हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै धरानको विद्यार्थी तथा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल ईञ्जिनियरीङ क्याम्पसमा अध्ययनतर नेवि संघ र समाजवादी विद्यार्थी फोरमआवद्ध विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुलाई फरवर्ड युथ ग्रुप धरानले पनि साथ दिएका थिए । विद्यार्थीहरुले निर्मलाको तस्बिरसहित सरकार भेटियो, न्याय भेटिएन भन्ने ब्यानर तथा प्ले कार्डहरु बोकेर क्याम्पसबाट र्याली निकालेका थिए । र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरुले भानुचोकमा सरकार विरुद्ध चर्को नाराबाजीसमेत गरे । उनीहरुले गृहमन्त्रीको राजिनामा पनि मागे ।

साथै, पोल पोलमा सरकार भेटिए पनि न्याय नभेटिएको भन्दै नेकपाको दुई तिहाई सरकारको चर्को आलोचना गरे । पोल पोलमा सरकार, टोल टोलमा बलात्कार जस्ता चर्का नारा पनि लाग्यो । विद्यार्थी अनुप पौडेलले सरकारले कुरा मात्र धेरै गरेको तर काम भने गर्नै नसकेको बताए । निर्मलाको बलात्कारी पक्रन नसकेको भन्दै उनले सरकार भएको अनुभूति जनताले गर्न नपाएको बताए । उनले भने,'यतिका दिन भइसक्यो । निर्मलाको बलात्कार गरी हत्या गर्नेहरु पक्राउ गर्न सकेको छैन । निर्मलाको बुबाको अवस्था नाजुक भइसक्यो । सरकार भने गफ मात्र गरिरहेको छ ।'

47294410_642537829482087_4182335304830550016_n copy