इनरुवा:सुनसरीको हरिनगर गाउँपालिका वडा नं १ मा रहेको चपडाही निम्न माध्यमिक विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले आफ्नै विद्यालयमा तालाबन्दी गरेका छन् ।

आक्रोशित विद्यार्थीहरुले आइतबार बिहान १० बजे तालाबन्दी गरेको हुन् । विद्यालयमा शिक्षकहरु नियमित नआएको, आएका शिक्षकहरुसमेत कक्षा नियमित नलिएको, प्रश्नको जवाफ दिन आनाकानी गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । विद्यालयका प्रअ भगवान लालप्रसाद गुप्ता स्वयम पनि विद्यालय नजिकमा रहेको काउली खेतीमा ब्यस्त रहने र आफ्नो पदीय जिम्मेबारी पूर्णरुपमा निर्वाह नगरेको कारणले नै शिक्षकहरुले लापरवाही गरेको कक्षा ८ का विद्यार्थी मुन्ना अन्सारीले बताए ।

शिक्षकहरु विद्यालयमा समयमा उपस्थित नहुने, अफिस कोठामा गफ गरेर बसिदिने गरेको विद्यार्थीहरु बताउँछन् । विद्यालयले कक्षा २ को कक्षा कोठालाई नै अफिस कोठा बनाएका छन् । जसले गर्दा विद्यार्थीहरुलाई पढन पनि समस्या हुने गरेको व्यवस्थापन समिति अध्यक्ष बिन्देशरी पोद्दारले बताए । उनका अनुसार अफिस कोठा छुट्टै राख्न बारम्बार आग्रह गर्दा पनि प्रअले अटेरी गरेका छन् ।

pic 2 copy

विद्यालयमा सबै भन्दा ढिलो आउने शिक्षक उमेश मेहता रहेको विद्यार्थीहरुले बताए । शिक्षक मेहता कक्षा कोठामा गएर कुर्सीमा बस्ने र सुतिहाल्ने गरेको मुन्ना अन्सारी बताउछन् । बिद्यालयमा शिक्षकहरु कालोपाटीमा पनि कहिले नलेखेको, केही सोध्न जादासमेत हकार्ने र तिमीहरु आफै पढ् भनेर फर्काउने गरेको विद्यार्थीहरु बताउँछन् । विद्यालयमा अहिलेसम्म नैतिक, कम्प्यूटर, अंग्रेजी, गणितलगायतका विषय एक पाठ पनि राम्रोसंग पढाई नभएको कक्षा ८ का विद्यार्थीहरुले गुनासो गरेका छन् ।

प्रअले भने विद्यलायमा अभिभावको कमजोरीका कारणले विद्यार्थी न्युन आएको दावी गरे । साथै, शिक्षकहरुले नियमित रुपमा नै पढाइरहेको दावी गरे । विद्यालयमा भएको चर्पी पनि असाध्यै फोहोर छ । दिशापिसाब गर्न विद्यार्थीहरु कक्षा सञ्चालन भइ रहेको बेला चर्पी गर्न घर जानुपर्ने विद्यार्थी सुरज मलहा बताउँछन् । प्रअलाई हरिनगर गाउँपालिका शिक्षा समितिबाट बारम्बार अभिभावक भेला र बिद्यालय व्यवस्थापन समितिको बैठकको लागि भनिरहदा पनि अटेरी गरिरहेको व्यवस्थापन समितिका पौद्दारले बताए ।