इटहरी : धरान उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको कालिका आधारभूत विद्यालय र केही स्थानीयवासीबीच जग्गाको स्वामित्वका विषयमा उत्पन्न विवाद निरुपण भएको छ । लामो समयदेखि विवादका रुपमा रहेको जग्गा सिमा एवम भोगाधिकार विवादका विषयमा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रले गम्भीर रुपमा समस्या केलाएर समाधान निकालेको हो । कालिका आधारभूत विद्यालयले चर्चेको जमिनसँग साँध सिमानामा परेका छिमेकीहरु गोरसमान आलेमगर र सितामाया थापाले विद्यालयले चर्र्र्चेको र भोगाधिकार परिधिमा रहेको जमिन विद्यालयलाई नै दिने सहमति गरेपछि लामो विवादका रुपमा रहेको भगडा अन्त्य भएको हो ।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी, वडाअध्यक्ष मानबहादुर राई तथा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको माकुरा समुह एवम् विद्यालय परिवारबीच साझा सहमतिमा हस्ताक्षेर गरिएको छ । ऐलानी पर्ती जमिनमा स्थापना भई सञ्चालनमा रहेको उक्त विद्यालयको नाममा जग्गा दर्ता गर्न आवश्यक पर्ने आर्थिक सहयोग समेत उपलब्ध गराउने गरी छिमेकीहरु गोरसमान आलेमगर र सितामाया थापाले सहमति गर्दै प्राकृतिक स्रोत द्धन्द रुपमान्तरण केन्द्रसँगको विस्तृत छलफलमा सात बुँदे सहमति कायम गरी हस्ताक्षर गरेपछि विवाद समाधानमा टुङ्गिन पुगेको प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत ब्यक्ती कृष्णकुमारी राईले जानकारी दिइन् । उक्त साझा सहमतिमा हस्ताक्षर भएपछि धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर मञ्जु भण्डारीले एउटा नकारात्मक चिन्तनको अन्त्यसँगै सकारात्मक भावनाको विकास भएकोमा सवैको जीत भएको भन्दै विद्यालयले प्रगति गर्ने विश्वास ब्यक्त गर्नुभयो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक रत्नकुमारी थापा, वडा ४ का अध्यक्ष मानबहादुर राई कर्णबहादुर कट्वाल योगेन्द्र बुढाथोकी दिपक लिम्वु कृष्णकुमारी राई लगायतले विद्यालयले भोग्नु परेका विगतका समस्याका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।