धरान: महेन्द्र बहुमुखी क्याम्पसले ४१ बर्षअघि खरीद गरेको जग्गामा मोहीयानी हक खोज्दै भुमाफियाहरुको चलखले बढेपछि क्याम्पसमा रहेको विद्यार्थी संगठनहरुले त्यसविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पस जग्गा बचाउ संघर्ष समिति गठन गरेर भुमाफियाहरु विरुद्ध संघर्षमा उत्रने घोषणा गरेका हुन् ।

संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै शैक्षिक संस्थाको सार्वजनिक जग्गामा मोहीको नाम गरेर भुमाफियाहरुले गिद्दे नजर गाडेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने जनाएको हो । यद्यपी, समितिले आन्दोलनको रुपरेखा भने तयार गरिसकेको छैन । सबै पक्षसँग छलफल गरेर आन्दोलनको रुपरेखा तय गर्ने समितिले जनाएको छ । विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनलाई पनि जानकारी नै नदिई सर्जमिन गरेको र मोही नामसारीको सिफारिश गरेको भन्दै जनप्रतिनिधिहरुप्रति पनि आक्रोश पोखेका छन् । वडा नं ११ ले सर्जमिन मुचुल्का गर्दा र नामसारीको सिफारिश गर्दा क्याम्पस प्रशासनलाई कुनै जानकारी नदिएर जनताले दिएको मतको विश्वासघात गरेको नेविसंघका कुन्दन अधिकारीले बताए ।

47442168_1609964872438377_1208357235906838528_n

सार्वजनिक महत्वसँग जोडिएको बिषयमा सुटुक्क सिफरिश गर्नुमा ठुलो खेल भएको उनले बताए । ‘उपप्रमुखबाट सिफारिश दिनु भन्ने निर्देशन वडा अध्यक्षलाई भएको रहेछ, सार्वजनिक महत्वको बिषयमा छलफलै नगरी किन त्यस्तो निर्देशन भयो ? यसप्रति हामी घोर आपत्ति जनाउछौं,’उनले भने । अखिल क्रान्तिकारीका रविन श्रेष्ठले पनि उपमहानगरपालिकाले भुमाफियाको चलखेलमा गलत सिफारिश गरेको भन्दै फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिए । यस्ते, अनेरास्ववियु इकाई अध्यक्ष सुजन खत्रीले पनि क्याम्पसले जग्गा खरीद गर्दा लगतकट्टा नगर्दा अहिले शैक्षिक क्षेत्रको जग्गामाथि भुमाफियाको चलखेल बढेको बताए । उनले मोहीको सम्बन्धित परिवारले भन्दा पनि अन्य व्यक्तिहरुले चलखेल गरेको प्रष्ट देखिएको बताए । ‘क्याम्पस प्रशासनले मोही नामसारीको निवेदन रोक्न भन्दाभन्दै कार्यवाहक प्रमुखबाट निर्देशन गएको पायौं, त्यो जग्गा व्यक्तिको होइन । धराने जनताको हो, जोगाउनुपर्छ,’उनले भने । क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियनको पहलमा आइतबार सबै विद्यार्थी संगठनहरुको भेलाले १३ सदस्यीय क्याम्पस जग्गा बचाउ संघर्ष समिति गठन भएको थियो ।

भेलाले स्ववियु सभापति सागर सरगम चेम्जोङ संयोजक रहने गरी संघर्ष समिति गठन गरेको छ । समितिमा सबै विद्यार्थी संगठनहरुको प्रतिनिधि छन् । ‘क्याम्पसले जग्गा किनेको ४१ बर्षपछि मोहीको हकदाबी गर्दै प्रक्रिया अघि बढेको रहेछ, तर यत्रो बर्षसम्म न उनीहरुले जोतभोग गरेका छन्, न त क्याम्पसलाई कुत नै बुझाएको छ,’संयोजक चेम्जोङले भने,‘यतिका बर्षपछि मोहीको छोरालाई अघि सारेर भुमाफियाले करोडौंको जग्गा हत्याउने दाउ रचेको प्रष्टै देखिन्छ ।’ शैक्षिक, सार्वजनिक महत्वको जग्गा भएको कारण सबै विद्यार्थी संगठनहरु एकजुट भएर संघर्ष समिति गठन गरेको सभापति चेम्जोङले बताए । उनले तत्काल सांकेतिक विरोध गरिएको र केही समयमा कडा संघर्षको कार्यक्रमहरु पनि तय गर्ने उनले बताए । स्ववियु सचिव दोर्ची शेर्पाले पनि मोहीलाई अघि सारेर भुमाफियाहरुले क्याम्पसको जग्गामा गिद्दे नजर लगाएको कारण सबै विद्यार्थीहरु त्यसविरुद्ध एकजुट बनेको बताए । क्याम्पसले २०३४ साल असारमा श्यामगोविन्द श्रेष्ठको नाममा भएको धरान ११, पानीटंकी(स्वास्तिका चोक)मा १७ कट्ठा १८ धुर जमिन किनेको थियो । साविक धरान ९(क) कये कित्ता नं २६६ को उक्त जग्गामा मोही डम्बरबहादुर घिमिरेको नाम उल्लेख थियो ।

47571698_713069045733421_4819372516394926080_n

तर, उक्त जग्गा क्याम्पसले खरीद गर्नुअघि नै घिमिरेले जग्गा जोतभोग गर्न छाडेको र क्याम्पसले लिएपछि पनि घिमिरे परिवारले जोतभोग नगरेको र कुत पनि नबुझाएको कारण मोही हकदाबी गर्न नमिल्ने क्याम्पस प्रशासनले दाबी गर्दै आएको छ । क्याम्पसको जग्गामा मोही भएका डम्बरबहादुर र उनकी श्रीमतिको मृत्यु भइसकेको छ भने जेठा छोरा पनि बितिसकेका छन् । अहिले उनको माइला छोरा यज्ञबहादुर घिमिरेले बुवाको नाममा भएको मोही नामसारी गर्न धरान उपमहागनरपालिकाबाट सिफारिश लिएर भुमिसुधार कार्यालयमा निवेदन दिएका छन् । क्याम्पसले उक्त जग्गामा होस्टेल, शिक्षक आवास गृह, कर्मचारी भवन र हाल बहुउद्देश्यीय भवन निर्माण गरेको छ । त्यस क्षेत्रमा कम्तीमा ११ लाख धुरले जग्गा किनबेच भइरहेको कारण भुमाफियाहरुको चलखेल भएको बताइन्छ ।