इनरुवा: सुनसरी सदरमुकाम इनरुवामा नागरिक शिक्षा र अन्तरसरकार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संविधानविद काशीराज दाहालले नेपालको संविधान पूर्णरुपमा कार्यान्वयनको लागि सबैमा इमान्दारिता र नैतिकता आवश्यक रहेको बताए । कार्यक्रममा प्रशिक्षण दिदै दाहालले समुदायमा नैतिक शिक्षा, नागरिक शिक्षा र स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसहित अन्तरसरकार सम्बन्धी विषयमा जानकारी दिनुपर्ने बताए । दाहालले विश्वकै उत्कृष्ट संविधान भएपनि कार्यान्वयमा चुनौति भएकाले समन्वय आवश्यक रहेको पनि धारणा राखे । आफ्नो अधिकार र जिम्मेबारी निर्वाह गरी विधी र विवेक प्रयोग गर्न पनि उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे । अन्तरक्रियामा शिक्षा सेवी, नागरिक समाज, अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधिसहितका एक सय ५० बढी सहभागी थिए । सरकारको जिम्मेबार निकायहरुमा सुशासन, पारदर्शिता, जवाफदेहिता, जनसहभागिता, कानुनको पालना अनिवार्य हुने विषयमा कार्यक्रममा जोडदिइएको थियो । महेन्द्र मोरङ कलेज बिराटनगरका सहप्रधायापक इन्दिरा प्रसाईले जनप्रतिनिधिहरुले तीन वटै तहमा जनताको सेवक बन्ुपर्ने भएपनि आफु मालिकको रुपमा जनता माथि शासन गरिरहेको बताइन् ।