धरान : किसोर अवस्थमा पाइला टेकीरहेका विद्यार्थीहरुमाथि हुने लैङगिक हिंसालाई मध्यजनर गर्दै मंगलबार धरान १६ स्थित सियोन इन्टरनेशनल स्कुलका विद्यार्थीहरुलाई महिला तथा बालबालिका हिंसा विरुद्ध सचेतना कार्यक्रम आयोजना भएको छ ।

महिला सञ्जाल र धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख तथा एसपी राजन अधिकारी, इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी सुमन तिम्सनाले प्रशिक्षण दिएका थिए । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई एसपी अधिकारीले महिला तथा बालबालिकामाथि हुने यौन दुव्र्यवहार, लागुऔषध, घरेलु हिंसा, मानव बेचबिखनलगायत विभिन्न अपराध र कानुनी पक्षबारे प्रशिक्षण दिएका थिए ।

एपपी अधिकारीले महिला विरुद्ध हुने हिसाको मूल कारण असामान शक्ति सम्बन्ध भएकोबारे प्रष्ट पारेका थिए । उनका अनुसार समान सम्बन्ध र शक्ति भएमा हिंसा हुदैन । घर परिवारबाट छोरा र छोरीमा हुने विभेदले नै भविष्यमा हिंसालाई प्रोत्साहन गर्ने पनि एसपी अधिकारीको भनाई थियो । उनले मादक पदार्थ र लागुऔषधको प्रयोग पनि महिला र बालबालिकामाथि हुने हिंसा हुने मुख्य कारण भएको पनि प्रष्ट पारेका थिए । उनले जान वा अञ्जानमा गरिएको अपराधमा कानुनले कसैलाई पनि क्षमा नदिने भएकोले कसैले पनि अपराध गर्नतर्फ उन्मुख नहुन पनि उनले आग्रह गरेका थिए ।

यसैगरी, डिएसपी सुमन तिम्सिनाले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई नैतिक शिक्षा, हिंसा र लागुऔषधबारेमा प्रशिक्षण दिएका थिए । उनले आफ्नो ज्यानको सुरक्षा आफै गर्न आग्रह गर्दै रातको समयमा विना काम एक्लै नहिड्न र सुरक्षितरुपमा परिवारसँग बस्न पनि विद्यार्थीहरुलाई आग्रह गरे । हिंसाबारे व्याख्या गर्दै डिएसपी तिम्सिनाले भौतिकरुपमा आक्रमण गर्नुमात्र हिंसा नभई अर्काको मन दुःखाउनु पनि हिंसाको एउटा रुप भएको प्रष्ट पारेका थिए । उनले विद्यार्थीहरुलाई जिज्ञासु उमेरमा म स्वतन्त्र छु, निर्णय गर्नसक्छु भनेर डान्सवार, डिस्कोमा एक्लै नजान पनि आग्रह गरे । साथीभाईको पार्टी भए पनि अभिभावकलाई जानकारी दिएर मात्र जान र आफुले कस्तो साथीभाईको संगत गर्दैछु भन्ने पनि सचेत हुन आग्रह गरे ।

डिएसपी तिम्सिनाले केटाकेटीको विहेको उमेर कानुनि रुपमा २० वर्ष पुुग्नु पर्ने र १८ वर्ष मुनिका बालबालिकालाई मन्जुरीमा यौन सम्पर्क गरेमा पनि बलात्कारको रुपमा कडा सजाय हुने जस्ता विषयहरुमा प्रस्टाएका थिए । बालबालिका हुदैमा जर्बजस्ती करणी र लागुऔषध प्रयोग, आसारपसारमा कसैलाई पनि छुट नहुने जानकारी दिएका थिए ।


यसैगरी, अघिल्लो दिन सोमबार भारतीय भु.पू. सैनिक महिला संघको आयोजना तथा १६ नं वडा समितिको सहयोगमा जोरसखुवास्थित याक्खा छुम्माको भवनमा लैगिक हिंसा तथा मुलुकी देवानी संहिता ऐन २०७४ विषयक सचेतना कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा भदौं १ देखि लागु भएको मुलुकी देवानी संहिता ऐन २०७४ बारेमा अधिवक्ता पदम लिम्बुले सहजिकरण गरेका थिए । लिम्बुले बहुविवाह स्वतः बदर हुने र दुवैलाई जरिवानासहित जेल सजाय, बलात्कार र जघन्य अपराधमा आजिवन काराबासको सजाय, तेजाब प्रहारले कुरुप बनाएमा जेल सजाय हुने पनि जानकारी दिएका थिए ।


सोही कार्यक्रममा लैगिक समानताका लागि राज्यले बनाएका नितीहरुका बारेमा धरान उपमहानरपालिका जेसी प्रमुख हेमा थलङले सहजिकरण गरेकी थिइन् । उक्त कार्यक्रम भारतीय भुपु सैनिक महिला समितीका अध्यक्ष लहरुमाया जिमीको अध्यक्षतामा, वडा १६ का अध्यक्ष काजी गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा महिला संजाल अध्यक्ष सबिता राई विशेष अतिथि, १४ वटा टोलविकास समितीका बाक्लो उपस्थिती रहेको थियो ।