तेह्रथुम: लालीगुराँस नगरपालिकाका महिला अधिकारकर्मीहरुले तेह्रथुम जिल्लालाई आगामी दुई वर्ष भित्र शुन्य असुरक्षित गर्भपतन जिल्ला बनाउन प्रतिवद्धता जनाएका छन् ।

नगरपालिकाको केन्द्र बसन्तपुरमा भएको यौन तथा प्रजनन् अधिकार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमपछि अधिकारकर्मीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । अधिकारकर्मीले अहिले चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा समेत शुन्य असुरक्षित गर्भपतनको एजेण्डालाई मुख्यरुपमा उठाइरहेको बताएका छन् । जिल्लामा आइपास नेपालको सहयोग तथा सम्मृद्ध तेह्रथुमका लागि अभियानको सहजीकरणमा सञ्चालित यौन तथा प्रजनन् स्वास्थ्य सुदृढिकरण परियोजना अन्तर्गत कार्यक्रम आयोजना भएको थियो ।

मंगलबार आयोजित कार्यक्रममा महिलाको यौन तथा प्रजनन् अधिकार, प्रजनन् अङ्गहरु, सुरक्षित गर्भपतन सेवा, पाइने ठाउँ र सो सेवाका फाइदाहरु लगायत विषयमा छलफल भएको थियो । कार्यक्रममा सम्मृद्ध तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्रप्रसाद काफ्ले, कार्यक्रम निर्देशक लक्ष्मीनारायण मिश्र र कार्यक्रम अधिकृत मीना भण्डारीले सहजीकरण गरेका थिए । कार्यक्रम लालीगुराँस नगरपालिकाका उपप्रमुख तिला पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । संमृद्ध तेह्रथुमकालागि अभियानले म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियोजना सन्चालन गरिरहेको छ ।