झापा: झापा जिल्लामा सामाजिक तथा सार्वजनिक महत्वका क्षेत्र वरपर मादक पदार्थ साथै सुर्तिजन्य पदार्थ बिक्रीवितरणलाई निषेध गर्ने अभियानलाई तीब्रता दिइएको छ ।

जिल्लाका हरेक विद्यालय, अस्पताल, मन्दिर तथा सार्वजनिक महत्व बोकेका क्षेत्रसँगै ती क्षेत्रका वरीपरी २ सय मिटरसम्मका पसल तथा होटलहरुमा मादक पदार्थ र सुर्तिजन्य पदार्थको बिक्रीवितरणमा निषेध गर्ने अभियान कार्यान्वयन गर्न थालिएको हो । विभिन्न निकायको सहयोगमा नेपाल प्रहरीले यो अभियानलाई तीब्रता दिएको छ । हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने नारा दिए । नेपाल प्रहरी झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । जस्मा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालयलगायतको प्रत्यक्ष सहभागिता एवं सहकार्य रहेको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत अस्पताल र विद्यालय वरपरका २ सय मिटर भित्र पर्ने होटल, किराना पसल, पान पसल लगायतमा जानकारीमुलक एवम सुचनामुलक कार्यक्रम सञ्चालन गरिएको छ  ।

बुधबार बिर्तामोड नागरपालिका वडा नं. ५ मा पर्ने पुरानो इलाम स्टेण्डको उत्तर सगरमाथा चोकसम्मका पसलहरुमा मादक पदार्थ साथै सु्र्तिजन्य पदार्थ यथासक्य चाँडो हटाउन पसल तथा होटल सञ्चालकहरुलाई जानकारी दिइएको छ । यो जानकारीलाइ अटेर गरी बिक्रीबितरण गरेको पाइएमा सामान जफत गर्ने र कानुन बमोजिम कार्वाहि गरिने प्रहरी नायब निरीक्षक(सई) सुन्दरलाल चौधरीले बताए । बुधबार गरिएको जानकारीमुलक कार्यक्रममा नेपाल प्रहरीको टोलीसँगै देवी माध्यमिक विद्यालयका बाल क्लबका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । ब्यानरसहित हिडेको टोलीले पसल छेउछाउमा जानकारीमुलक पोष्टर टाँस गरेको छ ।