तेह्रथुम:नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले साधारण सभाको अवसरमा शाखाका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद काफ्लेलाई सम्मान गर्ने भएको छ ।

जिल्लाको पत्रकारिताको विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष काफ्लेलाई तेह्रथुम पत्रकारिता विकास सम्मान–२०७४ ले सम्मान गर्ने निर्णय शाखाले गरेको हो । शाखाका संस्थापक अध्यक्ष तथा रेडियो तेह्रथुमका स्टेशन मेनेजर काफ्ले अहिलेपनि पत्रकारितामा क्रियाशील छन् । संस्थापक अध्यक्ष काफ्लेलाई म्याङलुङ नगरपालिका–१ बस्ने तेजबहादुर कार्की र उमादेवी कार्कीले स्थापना गरिदिएको ५० हजार रुपैयाँको अक्षयकोषको व्याजबाट नगदसहित सम्मान गर्ने निर्णय गरिएको शाखाका अध्यक्ष नरेश ढुंगानाले बताए । यस्तै शाखाले जिल्लामा कार्यरत तीन जना पत्रकारहरुलाई पनि छुट्टा–छुट्टै पुरस्कारहरुबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । शाखाले तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार–२०७४ बाट नवविहानी साप्ताहिकका कृष्णविःदुखी गौतम, तेह्रथुम महिला पत्रकारिता पुरस्कार–२०७४ बाट रेडियो तेह्रथुमका गोमा रसाइली र सहयोगी आर्थिक पत्रकारिता पुरस्कार–२०७४ बाट रेडियो मेन्छ्यायेमका विष्णुकुमारी राईलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ । तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार समाजसेवी राधिका पोखरेल र श्रीमान् डा.सन्जिव सापकोटाले स्थापना गरिदिएका हुन् । यो कोषमा १ लाख रुपैयाँ रहेको छ । यस्तै म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारीले स्थापना गरिदिएको सहयोगी आर्थिक पत्रकारिता पुरस्कारका लागि १० हजार रुपैयाँको अक्षयकोष रहेको छ ।

तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारका लागि पनि म्याङलुङ नगरपालिका–४ बस्ने सोम निरौलाले १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएिको महासंघले जनाएको छ । सम्मान र सबै पुरस्कारहरु मंसिर २७ गते हुने साधारण सभाबाट वितरण गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए । महासंघ तेह्रथुम शाखाले पत्रकारहरु माथि पर्ने विपद्मा सहयोगका लागि पत्रकारिता कल्याण कोष पनि स्थापना गर्ने भएको छ । पत्रकारिता पेशामा रहेका पत्रकारहरुलाई पर्ने विपद्को सामना गर्न सहयोग पुर्याउन कोष स्थापना गर्न लागेको महासंघका कोषाध्यक्ष दिपक कट्टेलले बताए । कोषमा संकलित रकमको व्याजबाट आपत् विपद्मा परेका पत्रकारहरुलाई सहयोग गर्ने उनले बताए । कोषमा तेह्रथुममा कार्यरत पत्रकारहरुबाटै स्वेच्छिक रुपमा सहयोग संकलन हुनेछ ।

यसैबीच, नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले भवन निर्माणका लागि भवन निर्माण समिति गठन गरेको छ । महासंघका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा ५ सदस्यीय भवन निर्माण समिति गठन गरेको हो । समितिको सचिवमा दिपक कट्टेल, कोषाध्यक्षमा यशोदा चेम्जोङ, सदस्यहरुमा प्रकाश धौलाकोटी र कल्पना लिम्बु रहेका छन् । महासंघले म्याङलुङ नगरपालिकाको कार्यालय नजिकै भवन निर्माणको तयारी गरेको अध्यक्ष ढुंगानाले बताए । भवन निर्माणका लागि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।