इटहरी: नेपाल पत्रकार महासंघ सुनसरी शाखाले सप्ताहव्यापी कार्यक्रम गरेर आफ्नो बार्षिक साधारणसभा मनाउने भएको छ । सुनसरीमा पहिलोपल्ट सप्ताहव्यापी पत्रकार र पत्रकारितासम्बन्धी विविध रचनात्मक क्रियाकलाप समावेश गरी कार्यक्रम गर्न लागेको हो ।
 
बिहीबार बसेको पत्रकार महासंघ जिल्ला शाखाको बैठकले सप्ताहव्यापी कार्यक्रम आगामी पुस १५ गते सुरु गरेर पुस १९ गतेसम्म गर्ने भएको हो । पहिलो दिन (पुस १५ गते) महासंघको धरानमा निर्माण भएको दोस्रो तला भवन उद्घाटन, दोस्रो दिन (पुस १६ गते) इनरुवामा पत्रकारितामा विद्यमान विद्यमान चुनौती र सामाजिक उत्तरदायित्व विषयक अन्तरक्र्रिया गर्ने निर्णय गरेको महासंघले जनाएको छ । इनरुवामा हुने कार्यक्रमका लागि महासंघ जिल्ला सदस्य सुनिल चौधरीको संयोजकत्वमा अजित झा र चन्दन गुप्ता सदस्य रहेको समिति गठन गरेको महासंघ अध्यक्ष अमर खड्काले जानकारी दिए । यस्तै, तेस्रो दिन (पुस १७ गते) इटहरीमा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुतीसँगै फोटो प्रदर्शनी पनि गर्ने भएको छ ।
महासंघले जिल्लाको इतिहास लेखन कामलाई समेत अघि बढाउने भएकाले गर्दा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुती कार्यक्रम राखिएको जनाएको छ । यसका लागि महासंघ जिल्ला सह–सचिव धुव्र ढकालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा महासंघ जिल्ला सदस्य धिरेन लिम्बु र विवेक भट्टराई सदस्य छन् । सोही दिन पत्रकारका स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्य शिविर पनि हुने गर्ने भएको छ ।
 
शिविर कार्यक्रम गर्न महासंघ जिल्ला उपाध्यक्ष सुभद्रा प्याकुरेलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा सह–सचिव दिनेश गजमेर र सुनिल चौधरी सदस्य रहेका छन् । चौथो दिन (पुस १८ गते) धरानमा पत्रकारकै लागि खेलकुद कार्यक्रम र पाँचौ दिन (पुस १९ गते) धरानमै साधारणसभा गरिनेछ । खेलकुद कार्यक्रमका लागि जिल्ला सदस्य धिरेन लिम्बुको संयोजकत्वमा समिति बनेको छ । समितिमा जिल्ला सदस्य अर्जुन सुवेदी, कानुन कार्की र विशाल राई सदस्य छन् । साधारणसभामा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि स्थापना गर्न लागिएको हित कोषको कार्यविधि पारित र भावि कार्यक्रम पारित गरिनेछ । महासंघले प्रचारप्रसार समिति पनि गठन गरिएको छ ।
 
जिल्ला उपाध्यक्ष सन्तोष काफ्लेको संयोजकत्वमा अजित झा, अर्जुन सुवेदी र सुनिल चौधरी सदस्य रहेको प्रचारप्रसार समिति गठन गरियो । यस्तै, कोषाध्यक्ष गोविन्द बस्नेतको संयोजकत्वमा विवेक भट्टराई र मिलन राई सदस्य रहेको आर्थिक समिति गठन गरियो । यस्तै, अथिति सत्कारका लागि जिल्ला उपाध्यक्ष सुभद्रा प्याकुरेलको संयोजकत्वमा अनिता रसायली, सुमित्रा राई र विशाल राई सदस्य रहेको समिति गठन गरिएको महासंघले जनाएको छ ।