धरान: धरान उपमहानगरपालिकाको वडा नं २० भएपनि साविक विष्णुपादुका गाविसको भालढुंगा भौगोलिकरुपमा दुर्गम गाउँ हो । धरान बजारका धेरैजसो मानिसहरु त्यहाँसम्म पुगेका छैनन् । भालढुंगामा एउटा उच्चमावि पनि छ, जसको नाम नै भालढुंगा उच्चमावि राखिएको छ । शुक्रबार दिउँसो भने धरान १४, हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसका विद्यार्थीहरु सो विद्यालयमा पुग्यो । पुर्वजानकारी भएकैले हुनुपर्छ, विद्यार्थीहरु ह्यापी बर्थ डे टु यु भन्ने गाउदै ताली पड्काएर खुशी बाडे ।

school-1

केही समय पछि खाद्य प्रबिधि(फुड टेक्नोलोजी) तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुसँग महिनावारीसँग विविध बिषयमा आफ्नो अनुभवसहित छलफल गरे । अर्को कक्षामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुसँग पनि बिएससि माइक्रोबायोलोजी तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीले महिनावारीसँग सम्बन्धित आफ्नो अनुभव बाड्नि । खासमा शुक्रबार बिएस्सी माइक्रोबायोलोजी तेस्रो बर्षमा अध्ययनरत आशिष श्रेष्ठको जन्मदिन थियो । उनी आफ्नो जन्मदिन मनाउन विद्यार्थी साथीहरुको एउटा सानो टोली लिएर उक्त विद्यालयमा जनचेतनामुलक अभियानमा पुगेका थिए । विद्यालयमा महिनावारी भएका छात्राहरुलाई धेरै समस्या हुने गरेको बुझेर त्यस्तो बेला लाज नमानी आफ्नो समस्या शिक्षक तथा साथीहरुलाई भन्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको श्रेष्ठले बताए । कार्यक्रम पश्चात श्रेष्ठले सो विद्यालयलाई ८१ थान सेनिटरी प्याडसमेत प्रदान गरेका थिए । जसले महिनावारी हुदा छात्राहरुलाई सहयोग पुग्ने उनको अपेक्षा छ । पहिलो पटक महिनावारी हुदा छात्राहरुलाई मानसिकरुपमा पनि समस्या हुने र त्यसबेला सही तरिकाले समन्वय गर्नुपर्ने उनले बताए । विद्यालयका शिषक सुरेन्द्र अधिकारले जनचेतनामूलक कार्यक्रमसँगै सेनेटरी प्याड वितरण हुदा विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने बताए । विद्यार्थी सोनु राईले पनि महिनावारी हुदा सरसफाईमा ध्यान दिनुपर्ने र नलजाई विद्यालय प्रशासनसँग प्याड माग्नुपर्ने भन्ने मनोवल र ज्ञान हासिल भएको बताइन् ।